मुलुक डेस्क, सङ्खुवासभा । २०८१ फाल्गुन २०, मंगलवार

हिमाली सौन्दर्य सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकाद्वारा आयोजित “मकालु प्लाटिनम महाेत्सव २०८१ तथा दक्षिण एसियाली साहित्यिक सांस्कृतिक सम्मेलन” सम्पन्न भएको छ।

मकालु गाउँपालिकाकाे नुम बजारमा आयोजित चार दिवसीय महाेत्सवमा मकालु साहित्यिक समाज तथा दक्षिण एसियाली साहित्यिक सांस्कृतिक सङ्गठनका अध्यक्ष ताराबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको छ । प्रा.डा.पुष्करराज भट्टकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गजलकार वीरेश राईकाे “तिम्रो माया स्वीकार्नु नै मेरो ठूलो भूल भयो, …” बाेलकाे गजल लाेकार्पित भएको थियो । वरिष्ठ सङ्गीतकार जीवन अधिकारीद्वारा सङ्गीतवद्ध उक्त गजल चर्चित गायक विष्णु अधिकारीले गाएका छन् ।

गजलकार राईद्वारा रचित चार सेरकाे गजललाई संयुक्तरूपमा प्रा.डा. पुष्करराज भट्ट, प्राज्ञ रमेश रञ्जन झा, प्राज्ञ खेम नेपाली, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, गीतकार ताराबहादुर बुढाथोकी, कवि डा. नीना राई र कवि/कथाकार रण काफ्लेद्वारा लाेकार्पित गरिएको थियो।उक्त कवि गाेष्ठीमा मित्र राष्ट्र भारतकाे दार्जीलिङ, सिक्किम, नागाल्याण्ड, हरियाणा र असमका कवि कलाकारहरुकाे उपस्थिति सहभागीता रहेको थियोे। साे कवि गाेष्ठीमा असमका कवि रण काफ्ले, दार्जीलिङकी कवि डा. नीना राई, सिक्किमकि गीतकार लुइस बिष्ट र नेपालका भरत बार्बरिक, ताराबहादुर बुढाथोकी, सनम थापा, मित्र परियार, हेम तामाङ र कृष्णबहादुर चापागाईंले कविता वाचन गरेको थिए। यसैगरी उक्त कार्यक्रममा दार्जीलिङकी गजलकार डा. साङ्मु लेप्चा र नेपालका विवश बलिभद्र काेइराला र सूर्यनारायण श्रेष्ठले गजल वाचन गरेका थिए।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार तथा गायक बुलु मुकारुङले आफ्नै शब्द सङ्गीतकाे सदाबहार गीत “ईलामे सहर चियाबारी राम्रो …” र गीतकार ताराबहादुर बुढाथोकीकाे गीत “हेदाङ्ना गढी घुम्न जाउँ कान्छी…”, भारत असमका चर्चित गायक सार्थे राेङ्पीले कार्बी लवजमा नेपाली गीत सुनाए- “डाँडा पाखा छहराले …”। यसैगरी सिक्किमका बहुप्रतिभाशाली सर्जक कृष्ण ढुङ्गेलले किरातीहरुकाे साकेला गीतकाे लयमा मुर्चुङ्गा बजाएका थिए।

मकालु साहित्यिक समाजका उपाध्यक्ष कवि कृष्णबहादुर चापागाईंद्वारा सञ्चालित साे गाेष्ठीमा फाेटाे पत्रकार गङ्गा बिष्टले सङ्खुवासभाका धार्मिक तथा पर्यटकीय महत्त्व राख्ने स्थानका तस्बिरहरूको समेत प्रदर्शन गरेका थिए।

