मुलुक डेस्क, काठमाडौं । २०८१ माघ १३, आइतवार

नेपाल भारत खुला सिमा संवाद समुहद्वारा बिदेह नगरपालिका वडा नम्बर-२, दुहबी सिमाक्षेत्रमा अवलोकन भ्रमण गरेको छ । खुला सिमाको विशेषता र त्यसले जनजीवनमा पार्ने प्रभावलाई उजागर गर्ने क्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोरको नेतृत्वमा नेपाल-भारत खुला सिमा संवाद समूहको अध्यक्ष डा. राजीव झा, प्रवक्ता प्रमोद रंगीले, बाल अभियानी आदित्य झा लागायतको टोलीले बिदेह नगरपालिका वार्ड नम्बर-२, दुहबीमा रहेको ऐतिहासिक दुर्गा मन्दिर र दुर्वासा ऋषिको गढको रूपमा परिचित दुर्वाशागढ लगायत सीमा क्षेत्रमा अबस्थित ऐतिहासिक ठाउँहरुको अवलोकन निरीक्षण भ्रमण गरेको छ ।

निरीक्षणका क्रममा दशगजामा देखिएका दृश्यले नेपाल-भारत सम्बन्धको गहिरो भाइचाराको झलक, दुबै देशका युवाहरू दसगजामा क्रिकेट खेल्दै र आपसमा सौहार्द साट्दै गरेको आत्मियता, साथै घाम ताप्दै त कोहि जलावन सुकाउँदै गरेका दैननिकी गतिविधिहरू पनि देखिएको अवलोकनकर्ताको बुझाइ रहेको छ । यस्तो दृश्यले नेपाल-भारत खुला सिमाको विशेष सम्बन्धलाई प्रस्ट पार्दछ, जहाँ सामान्यतः अन्य देशहरूको सिमामा बन्दुकसहितको कडा सुरक्षा हुने गर्छ ।

नेपाल भारतको विशेषता भनेकै सीमाक्षेत्रमा रहेका किसानहरू र परिवारहरूको साझा सम्बन्ध हो। धेरै किसानका खेत खलिहानहरू दुबै देशमा फैलिएका छन् भने थुप्रै परिवारका सदस्यहरू नेपाल र भारतका दुई किनारामा बसोबास गरिरहेका छन्। यो सम्बन्ध सिमाना निर्धारण हुनु भन्दा अगाडि एउटै देशमा रहेको इतिहाससँग जोडिएको हुनसक्छ। यस निरीक्षण भ्रमणले खुला सिमाको सामाजिक, सांस्कृतिक, र आर्थिक महत्त्वहरु उजागर गर्दै नेपाल-भारतबीचको विशेष सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्‍याएको देखिन्छ।

#muluktimes #Madhesh #MadheshProvince #madheshpradesh

Leave a Reply

Your email address will not be published. Required fields are marked *