संजीव सिंह, महोत्तरी । मुलुक टाइम्स

मुलुकमा बदलिँदो राजनीतिक र सामाजिक परिवेशमा स्थापित भएको विद्यालय हो – श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, मनरा। शिक्षाको मुल मर्म र उदेश्यलाई पूरा गर्ने लक्ष्यसाथ अगाडि बढदै गरेको यो विद्यालय मधेश प्रदेशको महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. १, मनरामा अवस्थित रहेको छ ।

२०४६ सालमा मनराका स्थानीय लब्धप्रतिष्ठित व्यक्तित्व सुर्यनारायण मिश्रले आफ्नो निजि जग्गा दान दिएर विद्यालय स्थापनामा अतुलनीय योगदान गरेको विद्यालयका प्रधानाध्यापक शोभा कुमारी मिश्रले ऐतिहासिक जानकारी गराइन् । स्थानीय सरकार लगायत विभिन्न निकायको सहयोगका साथ विद्यालयको भौतिक संरचना, खानेपानी, सहित कार्यालयको निर्माण सम्भव भएको शिक्षक रमेशकुमार रजकले बताए ।

यस आधारभूत विद्यालयमा (०-५) सम्मको अध्ययन र अध्यापन हुने गर्द्छ । सबै कक्षा मिलाएर करिब २ सयभन्दा बढी विद्यार्थी यो विद्यालयमा अध्ययनरत रहेको छ । यो विद्यालयमा ५ जना शिक्षक र एकजना कर्मचारी कार्यरत रहेको शिक्षक कौशल किशोर ओझाले बताए। शिक्षाको गुणस्तर, विद्यार्थीको समष्टिगत विकास, अनुभवी शिक्षक र चुस्त व्यवस्थापनको कारणले गर्दा यो विद्यालयप्रतिको आकर्षण बढदो रहेको शिक्षक ओझाले बताए ।

विद्यालयको व्यवस्थापन र शिक्षण सबल रहेपनि आम्दानीको कुनै विशेष स्रोत नभएकोले भौतिक, खेलकुद, प्रशासनिक कार्य गर्न कठिनाई आउने गरेको विद्यालयको भ्रमण गर्दा प्रष्ट देख्न सकिन्छ । डेढ कठ्ठामा बनेको संरचनामा विद्यालय अवस्थित र संचालन हुने गरेको छ । यो बाहेक सम्पत्तिको नाममा जम्मा २ कठ्ठा खेतीयोग्य जग्गा रहेको छ । विद्यालयसंग पक्की छत भएको भवनको अभाव, प्लेग्राउण्डकाे अभाव, शौचालयको कमी, कार्यालय कोठाकाे अभाव, शिक्षक बस्ने कोठा, कम्प्युटर प्रिन्टर लगायतको अभावले दैनिक कार्यसम्पादन र गुणस्तरमा असर पर्ने गरेको प्रष्ट देखिन्छ ।