मुलुक डेस्क, जनकपुरधाम । २०८१ माघ ०५, शनिवार

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश अझ पनि धेरै अधिकारबाट बञ्चित रहेको बताएका छन् । गृहमन्त्रालयको सहयोगमा मधेशी शहिद प्रतिष्ठानद्वारा जनकपुरको महेन्द्र नारायण निधी भवनमा आयोजित ७ औं बलिदानी दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले बताए । सिंहका अनुसार शहिदको बलिदानीका कारण देशमा संघीयता आएको छ, धेरै उपलब्धीहरु भएका छन् । तर अझ संविधान अनुसार पाउनुपर्ने धेरै अधिकारहरु नपाइएको उनको गुनासो छ । ‘संविधानमा धेरै अधिकारको सुनिश्चत गरिएकोे छ, तर अझ पनि हामी धेरै अधिकारबाट बञ्चित नै छौं। ठूला उद्योगहरु हामी सञ्चालन गर्न पाउँदैनौं, किनकी यसको संघ सरकारबाट स्वीकृति पाउने नीति छ।’ उनका अनुसार प्रदेशको अधिकार धेरै कुण्ठित गरिएको छ ।
बलिदानी दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले प्रदेशमा शिक्षाको अवस्था चिन्ताजनक रहेको पनि टिप्पणी गरेका थिए । ‘शिक्षामा पहिला मधेशको अवस्था राम्रो थियो, गणित, अंग्रेजी जस्ता विषयमा मधेशको अग्रस्थान थियो । तर मधेशमा सुनियोजित ढंगले शिक्षाको अवस्था बर्बाद पारिएको छ, अभिभावकहरुले आ-आफ्नो बच्चासंग पढाइको बारेमा सोधपुछ गर्न छाडेका छन् । जसकारण शिक्षाको स्तर खस्किदै गएको छ।’कार्यक्रममा सभामुख रामचन्द्र मण्डल, शिक्षा मन्त्री रानी कुमारी तिवारी, गृहमन्त्री राजकुमार लेखी, खेलकुद मन्त्री प्रमोद जैसवाल सहितको सहभागिता थियो ।
बलिदानी दिवसको अवसरमा मुख्यमन्त्री सिंहले यो वर्ष शहीद परिवार तथा घाइतेहरुका लागि सरकारले ३ करोड ६१ लाख रुपैयाँ छुटयाएको जनाए । उनका अनुसार शहीद परिवारलाई प्रदेश सरकारले जनही ३ लाख दिने निर्णय गरेको छ। यसैगरी गम्भीर घाइते भएकाहरुलाई जनही २ लाख, त्यसपछिका घाइतेहरुलाई क्रमशः जनही डेढ लाख र एक लाख रुपैयाँ दिने निर्णय भएको मुख्यमन्त्री सिंहले बताए। यसको साथै शहीद परिवारका लागि बीमा कार्यक्रम तथा बच्चाहरुको उच्च शिक्षाका लागि छात्रवृतिको कार्यक्रम पनि समेत अघि सारिएको उनले प्रष्ट पारे।