मुलुक डेस्क, काठमाडौं । २०८१ माघ ०५, शनिवार

नेपाल पुलिस क्लब (एनपीसी) जय ट्रफी पुरुष एलिट कपको ऐतिहासिक पहिलो पटक च्याम्पियन बनेको छ। वीरगञ्जमा तीनदिने फाइनल खेलमा त्रिभुवन आर्मी क्लब (टीएसी) लाई २८ रनले पराजित गर्दै एनपीसीले जय ट्रफी २०८१ को उपाधि जितेको हो ।
पहिले ब्याटिङ गर्दै एनपीसीले १३३/९ मा इनिङ सीमित भएको थियो। कुशल भुर्तेलले अर्धशतक (५१) बनाए र पहिलो दिनपछि ८५/२ मा सहज स्थितिमा थिए, जहाँ कुहिरो मौसमका कारण १७ ओभर मात्रै खेल्न सकिएको थियो। तर, भुर्तेल आउट भएपछि प्रहरीको इनिङ्स ध्वस्त भयो । आर्मीका लागि शाहब आलमले सात विकेट लिएर विपक्षीलाई न्यून स्कोरमा सीमित गरे।

जवाफी ब्याटिङमा टीएसीले ३७ रनको अग्रता लिएर १७० रन बनायो। भिम सार्कीले विस्फोटक ५८ रन बनाए भने बसिर अहमद र सोमपाल कामीले क्रमशः ४० र ३२ रनको योगदान दिए । एनपीसीका लागि सागर ढकालले फिफर र कुशल भुर्तेलले ह्याट्रिक लिए ।
दोस्रो दिनको खेलमा कुशल भुर्तेलले फेरि सर्वाधिक ४५ रन बनाए । दिलीप नाथले ३४ रन बनाए भने राशिद खानले १८ रन बनाए । एनपीसीको अन्तिम जोडीले तेस्रो दिनमा सात रन थपेपछि टोली १३९ रनमा अलआउट भयो। बलिङतर्फ शाहब आलम र बसिर अहमद दुवैले ५ विकेट लिए ।

करिब एक दिन ब्याटिङ गर्न बाँकी रहेको टीएसीलाई जितका लागि १०३ रन चाहिएको थियो तर ७४ रनमै सिमित भयो। दोस्रो इनिङ्समा पनि सागर ढकालले ६ विकेट लिएका थिए । ललितले चार विकेट लिए । आर्मीका लागि ओपनर इमरान शेखले २८ रन बनाए पनि अन्य ब्याट्सम्यानको पर्याप्त साथ पाएनन् । चोटका कारण प्रतियोगिताको आफ्नो पहिलो खेल खेलेका सागर ढकाल उत्कृष्ट बलिङका लागि प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगितामा मधेशका मायन यादव उत्कृष्ट ब्याट्सम्यान घोषित भए भने सहब आलम उत्कृष्ट बलर घोषित भए । आफ्नो नाममा ३३ विकेट लिएर शाहब “प्लेयर अफ द टुर्नामेन्ट” घोषित भए।
