संजीव सिंह, काठमाडौं । मुलुक टाइम्स

शिक्षाको क्षेत्रमा मुलुककै अग्रणी, पुरानो र प्रतिष्ठित विद्यालयमध्ये एक विद्यालयको नाम हो- श्री ३ चन्द्र माध्यमिक विद्यालय, कलैया, बारा । बाराल जिल्लाको सदरमुकाम कलैयामा अवस्थित यो विद्यालयको स्थापना वि. सं. १९८४ सालमा भएको हो । राणाकालिन श्री ३ महाराजको नाममा यो विद्यालयको नामाकरण गरिएको छ ।

यस विद्यालयमा +२ सम्मको अध्ययन र अध्यापन हुने गर्द्छ। +२ मा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानुन संकायको पढाइ हुने गर्दछ । यसका साथै अङ्ग्रेजी माध्यमतर्फ मन्टेश्वरीदेखि +२ सम्मको कक्षा पनि संचालन हुँदै आएको छ । सबै संकाय मिलाएर करिब दुई हजार ६ सयभन्दा बढी विद्यार्थी यो विद्यालयमा अध्ययनरत रहेको छ। यो विद्यालयमा करिब ६५ जना शिक्षक र कर्मचारी कार्यरत रहेको प्रधानाध्यापक नरेन्द्र कुमार गिरीले बताए। शिक्षाको गुणस्तर, विद्यार्थीको समष्टिगत विकास, अनुभवी शिक्षक र चुस्त व्यवस्थापन को कारणले गर्दा यो विद्यालयप्रतिको आकर्षण बढदो रहेको प्रअ गिरीले बताए ।


चन्द्र शमशेर (वि.सं. १९२० असार २६-१९८६ मङ्सिर ११) राणा शासनका पाचौँ श्री ३ महाराज तथा नेपालका १३औँ प्रधानमन्त्री हुन्। सुधारक देखिएका यिनी निकै लामो समयसम्म (झण्डै २८ वर्ष) नेपालको प्रधानमन्त्री रहे। पहिलो विश्वयुद्ध ताका चन्द्र शमशेर नेपालका प्रधानमन्त्री थिए। यिनले बेलायती सेनाको तर्फबाट लड्न ठुलो सङ्ख्यामा नेपाली सेना पठाएका थिए। चन्द्र शमशेरले त्रिचन्द्र कलेज,
त्रिचन्द्र सैनिक अस्पताल, टोखा क्षयरोग अस्पताल, सिंहदरबार बैद्यखाना, फर्पिङ जलविद्युत् परियोजना,
जनगणनाको सुरुवात, गोरखा भाषा प्रकाशनी समितिको निर्माण (हालको साझा प्रकाशन), चन्द्र नहर, चुरिया सुरुङ,
पहिलो रञ्जुमार्ग रोपवे धुर्सिङ देखि मातातीर्थ सम्म चन्द्रकै शासनकालमा सम्पन्न भएको थियो। उनले वि.सं. १९८४ मा नेपालमा पहिलो रेलवे बिछ्याई रेलसेवा सञ्चालन गर्ने उद्देश्यले नेपाल गभर्मेन्ट रेलवे स्थापना गराए। यसैगरी सती प्रथा, दास प्रथाको अन्त्य तथा मुलुकी एन सुधार जस्ता उदाहरणीय र अविस्मरणीय कार्य गरेका थिए ।
