मुलुक डेस्क, काठमाडौं । २०८१ पौष १८, बिहीवार

नेपालको पुरानो र प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयले ५०औँ दीक्षान्त समारोह आयोजना गरेको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ७४ हजार १४९ विद्यार्थीमध्ये १४ हजार ३०८ विद्यार्थीलाई उपाधि प्रदान गर्दै ५०औँ दीक्षान्त समारोह मनाएको छ । कार्यक्रमलाई त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका थिए ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहमा ९ हजार ६८ स्नातक, ५ हजार ५५ स्नातकोत्तर, ६३ एमफिल स्नातक र १२२ पीएचडी विद्यार्थी रहेका छन्। कार्यक्रममा आ-आफ्नो क्षेत्रमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई विभिन्न पदक प्रदान समेत गरिएको थियो ।

यस वर्षको प्रतिष्ठित शहीद सहप्राध्यापक हरिराज आचार्य स्वर्ण पदक व्यवस्थापन संकायबाट हिरा श्रेष्ठलाई प्रदान गरिएको छ । स्कुल अफ म्यानेजमेन्टबाट सुधा काफ्लेलाई श्री इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक प्रदान गरिएको थियो । रसायन विज्ञान केन्द्रीय विभागबाट सुशील पोखरेललाई अमृत पदक प्रदान गरिएको थियो।मदन विद्या पर्यावरण विज्ञान पुरस्कार रिखिता भण्डारीलाई केन्द्रीय वातावरण विज्ञान विभागले प्रदान गरेको छ । नेपाल बैंक लिमिटेडले सरदार गुञ्जमान सिंह स्वर्ण पदक र रामकृष्ण नुछे प्रधान पुरस्कार काठमाडौं मोडल कलेजकी रेविका भण्डारीलाई प्रदान गरेको छ ।

रत्नराज्य लक्ष्मी क्याम्पसबाट सुदीक्षा घिमिरेलाई नरेन्द्रमणि आचार्य दीक्षित स्वर्ण पदक र डा मोहनप्रसाद लाखे स्वर्ण पदक प्रदान गरिएको छ । पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका संजीवकुमार सिंहलाई शान्तिनारायण मिश्र पदक प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागबाट प्रतिकराज जोशीलाई डा.दुबासु क्षेत्री स्वर्ण पदक प्रदान गरिएको थियो । एमिरेट्स प्रा. डा. रामप्रसाद चौधरी स्वर्ण पदक वनस्पति विज्ञान केन्द्रीय विभागबाट श्रीना क्षेत्रीलाई प्रदान गरिएको छ ।
केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागकी चेतना कुँवरले नारायण शान्ति मिश्र पदक प्राप्त गरेकी छन् ।

केन्द्रीय अर्थशास्त्र विभागकी छात्रा सृज्या काफ्ले तारापद चौधरी पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कारबाट सम्मानित भएकी छन् । सीताकुमारी श्रेष्ठलाई शिक्षा केन्द्रीय विभागबाट शिल्पा विष्ट एकेडेमिक एक्सिलेन्स अवार्ड प्रदान गरिएको छ ।