संजीव सिंह, काठमाडौं । २०८१ पौष १४, आइतवार

ललितपुरको पाटन संग्रहालयमा तीन दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी २०२४ शुरु भएको छ । अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा बालबालिकाद्वारा तयार पारिएको पेन्टिङ राखिएको छ ।
अन्तर्राष्ट्रिय कला प्रदर्शनीको उद्घाटन प्रमुख अतिथि विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी र कार्यक्रमको अध्यक्षता गरिरहेका योङ पिकासोका निर्देशक अजय देशारले संयुक्त रुपमा गरेका थिए । कलाकार देशारले कलर फर पिससँगको सहकार्यमा १३२ देशका बालचित्रकारहरुको कलाको साटासाट गर्ने योजनाअनुरुप केही ५ देशका चित्रकारहरुको प्रदर्शनी गरिएको जानकारी दिए ।कार्यक्रममा सोमनाथ घिमिरेद्वारा सम्पादन र लेखन गरिएको पुस्तक “पङख्फुका पन्छी” बाल चित्रकारको भावनाको विमोचन तथा पत्रकार एवम् शिक्षाकर्मी संजीव सिंहले समिक्षा गरेको थियो ।

योङ पिकासोमा अध्ययन गरिरहेका १५ जना बालचित्रकारहरुको चित्रसँग सम्बन्धित विषयलाई समेटेर उक्त पुस्तक प्रकाशन गरिएको हो । पङ्खफुका पन्छीमार्फत खुला आकाशमा जसरी चराहरुले आफ्ना खुला दैनिकी विताउन सक्दछन्, त्यसैगरी दबाब बिना कोरिने चित्रको भावनाले फरक कोण दिने लेखक दाहालले बताए । योङ्ग पिकासोको चौथो पुस्तकको रुपमा प्रकाशित पङ्खफुका पन्छीले फरक विषयको उठान गरेको पिकासोको निर्देशक देशारले जानकारी दिए बाल चित्रकारहरुको चित्रसम्बन्धी ज्ञान र चित्र कोर्ने योजनाका विषयमा विश्लेषण गरिएको उक्त पुस्तकमा ६ बर्षदेखी १४ बर्षसम्मका बालचित्रकारहरुको विषयलाई समेटिएको छ ।

योङ्ग पिकासोको प्रस्तुती तथा कलर फर पिसको आयोजनामा संचालन गरिएको उक्त प्रदर्शनीमा बंगलादेश, भारत, मौरिससका १० तथा नेपालका ५४ जना बाल चित्रकारहरुको करिब २ सय चित्र समेटिएको कला प्रदर्शनी गरिएको छ । प्रदर्शनको सहआयोजकको रुपमा सहयात्रा तथा पाटन संग्रहालय रहेको उक्त ३ दिने उक्त प्रदर्शनीलाई “योङ आर्टिस फ्रम द वल्र्ड, इन्टरनेशनल आर्ट एक्जिविसन २०२४” नाम दिइएको छ । प्रदर्शनीमा ५ बर्षदेखी १५ बर्ष उमेर समूहका चित्रकारहरुलाई समावेश गरिएको छ । प्रदर्शनी १५ गते सोमवारसम्म संचालन रहनेछ ।

कला प्रदर्शनको क्षेत्रमा यो संस्थाले विगत १३ वर्षदेखि देश विदेशमा प्रशिक्षण र प्रदर्शन गर्दै आइरहेको छ। कार्यक्रमको संचालन पत्रकार एवम् शिक्षाकर्मी बाल मुकुन्द आचार्यले गरेका थिए । कार्यक्रममा महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालयका ६ जना र नेपाल राष्ट्रिय आधारभूत विद्यालयका ४ जना बाल चित्रकारको गरि १४ वटा पेन्टिङ प्रदर्शनीमा राखिएको छ । यसैगरी नुवाकोटबाट १० जना बाल चित्रकारको १० वटा पेन्टिङ पनि प्रदर्शनीमा राखिएको छ ।
