मुलुक डेस्क, जनकपुरधाम । २०८१ पौष ०६, शनिवार

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एनपिएलको अन्तिम तथा निर्णायक खेलमा जनकपुर बोल्ट्सको जितले प्रदेशका खेलाडीहरूको आत्मबल, प्रतिष्ठा तथा उत्साहमा वृद्धि भएको बताउँदै टोलीको ऐतिहासिक विजयलाई हर्षाेल्लासपूर्वक अभिव्यक्त गर्न खेलप्रेमीहरूलाई आग्रह गरेका छन् ।

मुख्यमन्त्री सिंहले प्रदेशको धार्मिक तथा साँस्कृतिक शहर जनकपुरधामसँग जोडिएको नाम र प्रदेशवासीकै भाव तथा संवेदना बनेको जनकपुर बोल्ट्सको विजयी वास्तवमा मधेश प्रदेशका बासिन्दामा रहेको खेलप्रेमप्रतिको निष्ठा र आफ्नो टोलीलाई जिताउने विनम्र प्रार्थनाको अभिव्यक्ति पनि भएको बताए । उनले प्रतियोगिता अवधिभर जनकपुर बोल्ट्सले गरेको उत्कृष्ट र आनन्दायक प्रदर्शनबाट प्रदेशवासीमा अन्तिम खेल समेत जित्ने विश्वास पलाएको भन्दै उनले टोलीले पनि आफ्नो कुशल रणनीति, उच्च मनोबल र धीरतापूर्ण खेलले प्रदेशवासीको भरोसामा खरो उत्रेको उल्लेख गरे । यसका साथै, ‘एनपिएलजस्ता प्रतियोगिताबाट नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना तथा खेल पर्यटनलाई बढावा दिने आधार तयार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाल खेल, खेलाडी र दर्शक सबै दृष्टिले थप तयार छ भन्ने सन्देश पनि संसारसामु पुगेको छ।’ उनले बताए ।

मुख्यमन्त्री सिंहले खेलले एकता, सद्भाव र सहिष्णुताको भावना विकसित गर्ने गरेको भन्दै एनपिएल र यसका प्रतियोगिताले नेपाली क्रिकेटको अब्बल स्तरलाई दर्शाएको उल्लेख गरे । मुख्यमन्त्री सिंह जनकपुर बोल्ट्सको हौसला बढाउन आज काठमाडौंस्थित क्रिकेट मैदानमै पुगेका छन् । एनपिएलमा जनकपुर बोल्ट्सको जितसँगै मुख्यमन्त्री सिंहले उच्च आत्मबल र सशक्त रणनीतिका साथ विजयी लक्ष्यमा पुगेको जनकपुर बोल्ट्सका सबै खेलाडी, खेल अधिकारी तथा टोलीसम्बद्ध सबैलाई हार्दिक बधाई एवम् उतरोत्तर प्रगतिको शुभकामना दिएका छन् । उनले जनकपुर बोल्ट्सको विजयलाई अपेक्षित भन्दै खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको समेत जनाएका छन् ।