मुलुक डेस्क, जनकपुरधाम । २०८१ मंसिर ६, बिहीवार

जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सवलाई व्यवस्थित, प्रभावकारी र आकर्षक तथा मेला भर्न आउनेहरूका लागि सुविधाजनक बनाउन मधेश प्रदेश सरकारले सरोकारवालाहरूसँग छलफल गरेको छ ।
मंसिर २१ गते मार्ग शुक्ल पञ्चमी तिथिमा हुने स्वयंवर र वैवाहिक कार्यक्रम एवम् त्यसअघिका विवाहपूर्वका विधिविद्यानमा सहभागी हुन लाखौँको सँख्यामा जनकपुरधाममा आउने श्रद्धालु भक्तजन र साधुसन्तका लागि बास, शौचालय, खानेपानी, सुरक्षा तथा अन्य सेवा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरिएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सिंहको अध्यक्षतामा बिहीबार बसेको बैठकमा विवाहपञ्चमी महोत्सवलाई भव्य एवम् व्यवस्थित बनाउन तीनै तहको सरकारले गर्नुपर्ने कार्यका बारेमा निर्णायक छलफल भएको हो । आजको बैठकमा तीनै तहका सरकारले दोहोरो नहुने गरी मितव्ययी ढङ्गले महोत्सवका व्यवस्थापकीय सहकार्य गर्ने विषयमा छलफल भएको प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्यालले जानकारी दिए ।
बैठकमा विभिन्न पाँच ठाउँबाट डिस्पलेका माध्यमबाट महोत्सवबारे जानकारी, महोत्सवका दृश्य विनिमय तथा अवलोकन गराउने, ठाउँ-ठाउँमा प्राथमिक उपचार सहितको स्वास्थ्य शिविर राख्ने, बिरामी तथा चोटपटकका शिकार हुनेको उद्धार तथा उपचारका लागि एम्बुलेन्स तथा निजी तथा सरकारी अस्पतालमा निःशुल्क उपचारका लागि बेड व्यवस्था तथा ट्रमा सेन्टर सञ्चालन गर्ने , औषधिमूलो सहित रेपिड रेस्पोन्स टिम परिचालन गर्ने, विभिन्न स्थानमा खाने तथा अन्य प्रयोजनका लागि पानीको आपूर्ति मिलाउने, अघिल्ला वर्षहरूभन्दा बढी सँख्यामा सफाइकर्मीसहित शौचालय व्यवस्थापन गर्ने, सडकबत्तीको व्यवस्थापन गर्ने र सिसिटिभी तथा ड्रोनबाट संवेदनशील ठाउँका गतिविधि निगरानी गर्ने आदि निर्णय भएका छन् ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार वैवाहिक कार्यक्रमका लागि उपयोग हुने जानकी मन्दिर परिसर, बाह्रबिघा र मणिमण्डप क्षेत्र तथा त्यहाँसम्मका बाटाेमा भिड व्यवस्थापन, पसल सञ्चालन र सरसफाइ लगायत कार्यमा बढी जोड दिइनेछ । महोत्सवका लागि सुरक्षा निकायले संयुक्त कार्ययोजनाका आधारमा सयौँको सँख्यामा सादा पोसाकसहितका सुरक्षाकर्मी परिचालन गर्नेछन् । वैवाहिक कार्यक्रममा अयोध्याबाट आउने पाँच सयभन्दा बढी जन्तीको आवास तथा भोजनका लागि विशेष व्यवस्था गरिनेछ । त्रेतायुगमा भएको रामजानकी विवाहलाई जीवन्त राख्न जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी पर्व मनाउने गरिन्छ ।