मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २८, बुधवार

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगंजस्थित नारायणी क्रिकेट मैदानको निरीक्षण गरेका छन् । बुधबार नारायणी क्रिकेट मैदानको निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले नारायणी क्रिकेट मैदानको संरक्षण र प्रबद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

यही क्रिकेट मैदानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन भएको हुँदा यसको संरक्षण अपरिहार्य रहेको मुख्यमन्त्री सिंहले बताए । क्रिकेट मैदानको निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘यो एउटा ऐतिहासिक खेल मैदान हो । यसकाे विकासका लागि प्रदेश सरकार गम्भीर छ । हामीले निरन्तर संघ सरकारका खेलकुद मन्त्रीलगायतसँग समन्वय र छलफल गररहेका छौँ।’ संघ सरकारबाट पनि यस आर्थिक वर्षमा बजेट विनियोजन नभएकोमा दुःख व्यक्त गर्दै उनले सहयोग गर्ने दातृ निकाय तथा संघसंस्थासँग पनि खोजी र समन्वय भइरहेको बताए । उनका अनुसार प्रदेश सरकारले पनि क्रिकेट खेल मैदानका लागि केही बजेट विनियोजन गरेको छ ।

नारायणी क्रिकेट मैदानको वर्षाैदेखि अल्झिएको मुआब्जाको विषयलाई पनि आफ्नै पालामा समाधान गर्न पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। उनले भने, ‘आजै म काठमाडौं जाँदैछु, त्यसबेला पनि म खेलकुद मन्त्रीसँग भेटेरै मुआब्जाको फायल अर्थ मन्त्रालयमा पठाउनका लागि पहल गर्छु ।’ अहिले खेलाडीहरू राज्यको शुन्य लगानीमा आफ्नै प्रयासमा उत्पादन भइरहेको सिंहको भनाइ छ । राज्यले खेल क्षेत्रमा अपेक्षित लगानी नगरेको स्वीकार गर्दै खेलाडीको प्रोत्साहन र खेलक्षेत्रमा आकर्षण बढाउनेतर्फ प्रदेश सरकारले काम गरिरहेको सिंहले बताए ।

क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंहले नारायणी क्रिकेट मैदानको वर्तमान अवस्थाका बारेमा मुख्यमन्त्री सिंहलाई जानकारी गराएका थिए । भर्खरै क्रिकेट मैदानको पिच निर्माणको काम भएको बताउँदै अध्यक्ष सिंहले मुआब्जाको विषयलाई टुंगो लगाउनका लागि पहल गरिदिन अनुरोध गरे । साथै उनले क्रिकेट मैदानको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) पनि तयार भएको बताउँदै बजेटको व्यवस्थापन हुने बित्तिकै अन्य काम थालनी गर्ने बताए । सो अवसरमा नेशनल सेलेक्टर मुर्तुजा हवारी, क्रिकेट संघ पर्साका सचिव घनश्याम बाबु गुप्ता, क्यानका पूर्व केन्द्रिय सदस्य दाउद अन्सारी, प्रदेश सदस्य बाबुजान अन्सारी, पर्साका चिफ सेलेक्टर राजिव श्रेष्ठ, बिक्रम बस्नेत, रजत पाण्डे, सुबास यादव, फारुक आलम, नाजिर शेख लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *