मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २७, मंगलवार

सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका-६ स्थित बागमती किनारमा आइतबार प्रधानाध्यापकमाथि गोली प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका-७ तुफानपुर घर भएका ३० वर्षीय कर्मानन्द ठाकुर छन्। कार्तिक २५ मा हरिहरपुरगढी गाउँपालिका-६ स्थित झप्सीमा प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार भएको थियो।
सर्लाहीको बागमती गाउँपालिका-१ घर भएका बोम्जन प्रदेश २-००३-००६ प ८४५४ नम्बरको मोटरसाइकल चढेर सिन्धुली जाँदै गरेका थिए। बोम्जन मकवानपुरको बकैया गाउँपालिका-३ स्थित हात्तीसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्।
पक्राउ परेका ठाकुरसहित ३ जना मिलेर लुटपाट गर्ने उद्देश्यले शिक्षकमाथि गोली प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। एकान्त पारेर लुट्ने उद्देश्यले बसेका लुटेराहरूले हानेको गोली लागेर घाइते भएका बोम्जनलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। काठमाडौँको ह्याम्स अस्पतालमा उनको दाँतमा अड्किएको गोली निकालिएको छ। (स्रोत: सर्लाही न्युज)