मुलुक डेस्क, जनकपुरधाम । २०८१ कात्तिक २६, सोमवार

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारको तहमा राजनीतिक परिवर्तनका कारण नीतिगत व्यवस्था र प्राथमिकतामा बदलाव आउन नहुने बताएका छन् । उनले अल्पमत र बहुमतका आधारमा कार्यपालिका परिवर्तन हुने शासकीय प्रणाली रहेकाले सरकारको दृष्टि, उद्देश्य र लक्ष्य प्राप्तिका लागि स्थायी सरकार अर्थात् कर्मचारीतन्त्र क्रियाशील हुनुपर्ने उल्लेख गरे ।


सुशासन कार्यान्वयन र सङ्घीयता कार्यान्वयनमा मधेश प्रदेशको अवस्थाबारे हाम्रो भिजन मिडियाले गरेको अध्ययनको सारसंक्षेप प्रस्तुतीकरण कार्यक्रममा जनकपुरधाममा बोल्दै मुख्यमन्त्री सिंहले स्वास्थ्यमा पहुँच र सेवाप्रवाह, शिक्षाको सुनिश्चितता, विस्तार र गुणस्तर कायम, सिँचाइ तथा खानेपानी व्यवस्थापन, कृषिकार्यका लागि चाहिने सामग्रीको उपलब्धता र प्राप्ति आदि कार्य सरकारको प्राथमिक विषय भएकाले यसका लागि बाटो निर्धारण गर्ने दायित्व कर्मचारीहरूको भएको बताए ।‘एउटा सार्थक र परिमाणयुक्त गन्तव्यमा सरकारलाई पुगिरहनुपर्छ। त्यसक्रममा मैले के के गरेँ र ती काम गरिरहँदा आत्मसन्तुष्टि भयो कि भएन भन्ने कुराको समीक्षा राजनीतिक नेतृत्वसँगै कर्मचारी नेतृत्वले पनि गर्नुपर्छ ।’ भन्नेमा मुख्यमन्त्रीले जोड दिए । मुख्यमन्त्री सिंहले रिक्तता र बेथिति छन् भन्दैमा सरकार यथास्थितिमा नरहने औँल्याउँदै चुनौतीहरूलाई उछिन्न कर्मचारीमा उत्प्रेरणा र क्रियाशीलता आवश्यक भएको चर्चा गरे । केही समयअघि आफैँले मन्त्रालयलगायत विभिन्न स्वास्थ्य एकाइहरूमा छड्के गरेको भन्दै मुख्यमन्त्री सिंहले कर्मचारीको उपस्थिति र सेवाप्रवाहको प्रभावकारिताबारे मन्त्रालयका सचिवहरूले नियमित ख्याल गर्नुपर्ने बताए । उनले अध्ययनक्रममा देखिएका कमीकमजोरीबारे समीक्षा गरी तिनलाई सच्चयाउन विभिन्न मन्त्रालयका नेतृत्वलाई निर्देशन दिए।

मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने भन्दै भूगोललाई नभई जनसँख्यालाई सेवा पुर्याउनुपर्ने बताए । उनले भने, ‘मान्छे नभएको ठाउँमा जङ्गल उम्रिन्छ, मान्छे भएको ठाउँमा घर बन्छ र सेवा घरलाई चाहिन्छ ।’ उनले भ्रष्ट्राचारको विरोध, पारदर्शिता र इगभर्नेन्सजस्ता विषयबाट सुशासन प्रवद्र्धन हुने भन्दै जनशक्ति तथा संयन्त्रको क्षमता अभिवृद्धि, कार्यमा प्रभावकारिता तथा विस्तारबाट समेत असल शासनमा मद्दत पुग्ने उल्लेख गरे । सभामुख मण्डलले सरकारको राजनीतिक नेतृत्व परिवर्तन हुन्छ र आफू रहिरहने भन्ने कर्मचारीको मनोविज्ञान परिवर्तन हुनुपर्नेमा जोड दिँदै मधेशीलाई भ्रष्ट भन्नेहरू महापापी भएको आरोप लगाए । उनले भ्रष्टाचारको परम्परा र सञ्जाल तोड्ने चुनौती मधेश सरकारसमक्ष रहेको पनि बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनसिंह कोइरी, विभिन्न मन्त्रालयका सचिवलगायतले आआफ्ना धारणा राखेका थिए । यसैगरी कार्यक्रममा संस्थागत विकास तथा सुशासन विज्ञ तथा प्रतिवेदन प्रस्तोताको रुपमा हरिहर न्यौपाने, भाषा तथा सिकाई विधि विज्ञ डा. यदूप्रसाद ज्ञवाली, जनस्वास्थ्य र स्वास्थ्य शिक्षा विज्ञ डा. मोहन कुमा शर्मा,
कृषि संचार विज्ञ डा. बद्रीप्रसाद ओझा, पूर्वाधार विज्ञ
ई. रंजित सिंह सहितको टोलि उपस्थित रहेको थियो ।अध्ययन प्रतिवेदनमा प्रदेशको समृद्धिका लागि राजनीतिक एकता, नीतिगत स्थिरता, सामूहिक प्रतिबद्धता, कर्मचारीहरूमा उच्च उत्प्रेरणा र इच्छाशक्ति, आवश्यकताका आधारमा कार्यक्रम निर्माण आदि सुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *