संजीव सिंह, काठमाडौं । २०८१ कार्तिक २५, आइतवार

महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ती किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिरहे। यस बिच उनले देशद्रोहीको अभियोग पनि खेप्न परेको थियो। वि. सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत सङ्घ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका छ। वर्तमान अवस्थामा महागुरु फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य धर्म मुचुल्का’ को नीति विश्व समुदायले अनुसरण गर्न थालेका छन्।

वि. सं. १९४२ साल कातिक २५ गते (सन. १८८५ नेभेम्बर ८) आइतवार राती नेपालको पूर्व लिम्बुवान (कोशी प्रदेश) माङसेबुङ गाउँपालिका वडा नं. २, साविक इभाङ–५ चुक्चिनाम्बामा बुबा जगुनबाज लिङदेन र आमा हंसमति बेघा लिङदेनको कोखबाट साइँला छोराको रूपमा सामान्य किसान परिवारमा महागुरु फाल्गुनन्द लिङदेनको जन्म भयो ।

महागुरु फाल्गुनन्दलाई बि.स. २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरियो। उनको सम्मानमा पाँचथरमा गाउँपालिकाको नाम नै फाल्गुनन्द गाउँपालिका राखिएको छ। अनि झापा जिल्लाको शान्तिनगरमा उनको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ। त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुनन्द राजमार्ग नामकरण गरेको छ।

पूर्वी नेपालको इलाममा जन्मेका गुरु फाल्गुनन्दसँग अद्भूत तथा चामत्कारिक गुण रहेको विश्वास गरिन्छ । पूर्वी नेपालका विभिन्न ठाउँमा किराँतहरुको मगंहिम मन्दिरको स्थापना गर्न उनको विशेष र महत्त्वपूर्ण योगदान र सहभागिता रहेको मानिन्छ ।

पूर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने अत्यन्त शालीन अनि प्रकृतिप्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको पार्दुभाव गर्न गुरु फाल्गुनन्दको विशेष भूमिका रहेको मानिन्छ । त्यस्तै, किराँत समुदायलाई रुढीवादी परम्पराबाट बाहिर ल्याउन पनि गुरु फाल्गुनन्दको ठूलो भूमिका छ । त्यसैले पनि वर्षौपछि पनि विशेषगरि किराँत समुदायमा गुरु फाल्गुनन्दको चर्चा निकै चल्ने गरेको छ ।

प्रेम र अहिंसाका अनुयायी तथा प्रतीक साथै समाज सुधारकका रुपमा पनि लिइने फाल्गुनन्दको पूरा नाम चाहिँ फाल्गुनन्द लिङ्देन हो । उनलाई अति प्रतिष्ठित गुरु, सत्यवक्ता र साधुका रुपमा पनि लिने गरिएको छ । उनले दिएका दिव्यज्ञान अनि परमसत्य वचनहरुले आज पनि मानव जीवनको विभिन्न कालखण्डमा सत्मार्ग देखाउने गरेको पाइन्छ । गुरु फाल्गुनन्दका अहिंसाका सिद्धान्तहरु उदाहरणीय भएको पनि मानिन्छ ।

जन्मिँदा फाल्गुनन्दको सुरुवाती दिन सहज थिएन । बाबु जगनबाज लिम्बु र आमा हंसमती लिम्बुका साँहिला छोराका रुपमा जन्म लिएका फाल्गुनन्दको न्वारनको नाम नरध्वज लिङ्देन थियो । तर, बाल्यकालमा सिकिस्त बिरामी भएपछि उनलाई बाबुले फलामका चुरा बनाएर हातमा लगाइदिएपछि उनको नाम फलाम सिंह रहन गयो । पछि बेलायती सेनामा भर्ती हुन जाँदा फलाम सिंहलाई परिवर्तन गरेर उनको नाम फाल्गुनन्द रहेको हो ।

आठ वर्षको उमेरमा नै हत्या र हिंसाको विरोधमा फाल्गुनन्दले आफ्ना धारणा राखेका थिए। उनले नारी जाति सृष्टिकर्ता भएकाले उनीहरुलाई समाजमा उँचो सम्मान दिनु पर्ने, आफ्नो कूलदेवतालाई सदा विहान र बेलुका पूजा आरधना गर्नु पर्ने, माछामासु, मदिरा सेवन गर्न नहुने धारणा राख्दथे । हत्याहिंसाका विरोधी, सत्य वचन र धर्मकर्ममा निष्ठ, समाज सुधारक महागुरु फाल्गुनन्दको आज परेको जन्म जयन्तीमा श्रद्धा सुमन !


		
			

Leave a Reply

Your email address will not be published. Required fields are marked *