मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २४, शनिवार

नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठा नियुक्त भएका छन्। काठमाडौं विश्वविद्यालयले प्रा.डा. मरहठ्ठालाई आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो । विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहेका डा. मरहठ्ठालाई शुक्रबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गरेको हो ।
काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायत नेपाल सरकारका नियामक निकायहरुसँग समन्वय गर्न, कलेजको शैक्षिक र प्राज्ञिक विकासमा प्रिन्सिपलले समन्वयकारी भूमिका निर्वाह गर्नमा प्रिन्सिपलको महत्वपूर्ण भूमिका रहने बताउँदै अध्यक्ष प्रा.डा. अन्सारीले त्यसका लागि सबैले सकारात्मक भएर काम गर्नुपर्ने बताए । साथै उनले नवनियुक्त प्रिन्सिपलसँग सहकार्य, समन्वय गरेर काम गर्न विभागीय प्रमुख, फ्याकल्टी र कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
पदस्थापन कार्यक्रममा बोल्दै नवनियुक्त प्रिन्सिपल प्रा.डा. मरहठ्ठाले नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गर्दै पदीय दायित्व निर्वाह गर्ने क्रममा सबैसँग सहकार्य गरी सामुहिक सल्लाह सुझाब अनुसार अगाडी बढ्ने बताए। कलेजका अस्पताल निर्देशकका रुपमा रहेर काम गर्दा हासिल गरेको अनुभव र सिकाईलाई प्रिन्सिपलको भूमिकामा काम गर्दा उपयोग गर्दै अधिकतम कलेजको हित र श्रीवृद्धिका लागि आफू लागिपर्ने उनले प्रतिबद्धता व्यक्त गरे। ‘यो संस्थाको गरिमा बढाउन, यसको शैक्षिक, प्राज्ञिक र स्वास्थ्य क्षेत्रको विकास, स्तरोन्नतीका लागि हामी सबैको ऐक्यबद्धता हुनुपर्दछ । म प्रिन्सिपलको भूमिकामा रहँदै गर्दा यहाँहरु सबैसँग सहकार्य गरेर अगाडी बढ्नेछु ।’ पदस्थापन कार्यक्रममा उपस्थित भएका कलेजका भाइसप्रिन्सिपल, प्रबन्ध निर्देशक, निर्देशक लगायत विभागीय प्रमुख, फ्याकल्टीहरुलाई संवोधन गर्दै डा. मरहठ्ठाले भने ।

कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले नवनियुक्त प्रिन्सिपल डा. मरहठ्ठालाई कार्यकालको शुभकामना दिँदै म्यानेजमेन्टको तर्फबाट कलेजको शैक्षिक विकास, प्रवद्र्धन र जस्तोसुकै सहयोग र सहकार्य गर्न तयार रहेको बताइन् ।
त्रिवि शिक्षण अस्पतालको एनेस्थेसिया विभागको प्रमुख भएर काम गरिसकेका डा. मरहठ्ठासँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन समेत भएर सफलतापूर्वक कार्य गरेको अनुभव छ । कलेज व्यवस्थापनले प्रिन्सिपल पदका लागि तीन जनाको नाम विश्वविद्यालयलाई सिफारिस गरेकोमा विश्वविद्यालयले प्रा.डा. मरहठ्ठालाई प्रिन्सिपल नियुक्त गरेको हो । काठमाडौं विश्वविद्यालय अन्तरगतका कलेजहरुमा विश्वविद्यालयले नै प्रिन्सिपल नियुक्त गर्ने प्रावधान छ । यसअघि प्रा.डा. प्रमोदकुमार क्षेत्रीले ६ वर्ष कलेजको प्रिन्सिपलको भूमिकामा रहेका थिए। पारिवारिक कारणले उनले राजिनामा दिएपछि नयाँ प्रिन्सिपल नियुक्त गरिएको हो ।