सृजना सरोवर । काठमाडौं

उषा हुँदा झट्पट जाग्नुपर्छ
प्रभातमा जाँगर डाक्नुपर्छ
जसै डुबे भाष्कर साँझ पर्छ
चरासँगै बास म फिर्नुपर्छ ।।१!
हँसाइ सारा जग हाँस्छ मान्छे
स्वतन्त्र मान्छे भइ बाँच्छ मान्छे
बितेर जाने चिज जिन्दगी हो
युगीन माया पनि साँच्छ मान्छे ।।२!
मभित्र जाग्छन् सुविचार सच्चा
झुटो कुराले मन हुन्छ कच्चा
लिएर मोटो किन बुद्धि बाँच्ने
खराब तृष्णा मनमा नसाँच्ने ।।३!
बुवा र आमा बहिनी र भाइ
सँगै रमाऊँ परिवार पाई
किसानको हो कृषि मुख्य पेसा
हराभरा जाँगरले करेसा ।४।
म धर्मका मानव देव मानुँ
सु सभ्य संस्कार सदा बनाऊँ
म हिन्दुको मन्दिरमा पुगेर
पुकार्न पाऊँ प्रभु हे भनेर ।५।
हुँदैन तैँले नभनून् दलित
तँ हिन्दु रैछस् नभनून् मस्जिद
नवाज पढ्दा पनि कृष्ण पाऊँ
पुराण पढ्दा कुरान गाऊँ ।६।
म भेद कौनै थिति को न गर्ने
विरोध बाधा रितको न गर्ने
विरोध गर्ने व्यबस्थापिकाको
छ राज्यले हण्डर धेर खाको ।७।
लडाइ अर्को कहिल्यै नहाँसुँ
चुमेर गन्तव्य सधैँ म हाँसुँ
विचार यस्तो मनमा पलाओस्
दया र माया करुणा उदाओस् ।८।
क्षमा दिने भाव म भित्र जाग्छ
अनीति मेरो मनबाट भाग्छ
मबाट कोही यदि गर्छ चाह
दिने रहोस् शक्ति ममा अथाह ।९।
झिनामसिना गफमा भूलेर
त्यसै न जाओस् बल बैँस खेर
जहाँ म जाऊँ नित काम नेक
गरेर आऊँ म नयाँ प्रयोग ।१०।
हलो कुटाको कविता बनेर
स्वयं म पोख्यूँ सरिता बनेर
किसानको पौरखमा म हाँसु
बनेर ढाकी हँसिया तराजु ।११।
हिमालको श्वेत पवित्र चित्र
टल्किरहेछन् छवि ती मभित्र
पहाडको सुन्दर लालिमा म
मधेसको जङ्गल कालिमा म ।१२।
फिजाउँदै नैतिक चेतना म
विभेदका दु:ख वेदना म
जिमी समाती दृढ़ सोच गर्छु
म एक मुठ्ठी रज बन्छु बन्छु ।१३।
पुजेर सच्चा श्रम शक्तिलाई
इनाममा जीवन यो चढाई
मरेर जाँदा पनि गीत बन्छु
रचेर नौलो इतिहास मर्छु ।१४।
म जन्मिएको धरती सिँगारी
जन्माउनेको दिल धप्प पारी
सकूँ धराको ऋण गर्न चुक्ता
खुला बनून् मार्गहरू प्रसस्त ।१५।
नदी बनी बग्दछ जीवनी यो
छ खेद सस्ता जड भावनाको
विचार डुल्छन् सयलाख बार
मभित्र खेल्छन् सपना हजार ।१६।