मुलुक डेस्क, महोत्तरी । २०८१ कार्तिक १३, मंगलवार

मनरा शिसवाका मेयर मोहन पाण्डेयको संयोजकत्वमा नेपाल नगरपालिका संघ मधेश प्रदेशको सेवा ऐन मधेश प्रदेश संसोधन कार्यदलको गठन गरिएको छ।
नेपाल नगरपालिका संघ मधेश प्रदेशको आयोजनामा जिल्ला समन्वय समिति धनुषाको सभाहलमा नेपाल नगरपालिका संघ मधेश प्रदेश समितिका संयोजक तथा हंसपुर नगरपालिकाका मेयर प्रदिप यादवको अध्यक्षतामा बसेको प्रदेश समिति बैठकबाट स्थानीय सेवा ऐन मधेश प्रदेशमा रहेका त्रुटिहरुलाई संसोधनका लागि तथा प्राकृतिक स्रोतको रोयल्टी बाडफाँटका लागि विज्ञ र कानुन विदको सुझाव लिई बर्तमानमा देखिएका त्रुटिहरुलाई संसोधन गराउन नेपाल नगरपालिका संघ मधेश प्रदेशले मनरा शिसवा नगरपालिकाका मेयर मोहन पाण्डेयको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

उक्त गठित कार्यदलले मधेश प्रदेशको स्थानीय सेवा ऐनमा देखिएका त्रुटी तथा गाउँपालिका, नगरपालिका, विज्ञ र कानुन विदबाट आएका सुझावहरु लाई दृष्टिगत गर्दै कार्यदलले बनाएको रिपोर्ट गाउँपालिका संघ र नगरपालिका संघले मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई बुझाउने छ ।
स्थानीय ऐन तथा प्राकृतिक स्रोत कार्यदलका संयोजकमा मेयर मोहन पाण्डेयसंगै सदस्यमा धनगढीमाई नगरपालिकाका उपमेयर संगिता कुमारी चौधरी, जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष कमला सहगल, सदस्य सचिव अकबर अंसारी लगायत ६ सदस्यीय कार्यदल रहेको छ ।

नेपाल नगरपालिका संघले प्रादेशिक नगर अध्ययन केन्द्र संचालन कार्यविधि २०७९ अनु्सार मधेश प्रदेश अन्तर्गतका सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्लाका नगरपालिकाहरुका लागि जनकपुरधाम उपमहानगरपालिकामा थप नयाँ प्रादेशिक नगर अध्ययन केन्द्र स्थापनाका लागि नेपाल नगरपालिका संघको तर्फबाट मधेश प्रदेश समिति संयोजक प्रदिप कुमार यादव,जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज साह र नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाको उपस्थितिमा जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा कार्यालय संचालनका लागि सरसामान हस्तान्तरण गरिएको थियो ।
