मुलुक डेस्क, काठमाडौं । २०८१ असोज २९, मंगलवार

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी राज्य र नागरिक विचको पहिलो सम्पर्क सुत्राका रूपमा रहेको एवम् आमनागरिकको सहयात्री हुन सफल भएको उल्लेख गर्दै नेपाल प्रहरी मुलुकको अपरिहार्य र महत्वपूर्ण संस्थाको रूपमा स्थापित भइसकेको बताएको छ ।

६९औं प्रहरी दिवसको अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताएको हो । सो अवसरमा गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गरे । साथै उहाँले प्रहरी दिवस २०८१ स्मारिका र नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गरे ।

प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी परिवारलाई शुभकामना दिँदै गृहमन्त्री लेखकले शहादत प्राप्त अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरूप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले अमर प्रहरीका परिवारहरूलाई सद्‍भाव सहयोग प्रदान गर्नुभयो ।

समारोहमा विशिष्ट अतिथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक जय बहादुर चन्द, पूर्व आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बराल, गृह सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहरा, अवकास प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, अमर प्रहरीका परिवारहरू, अन्य बिशिष्ट अतिथि महानुभावहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् उपस्थित प्रहरी अधिकृत तथा जवानहरूले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरे ।

समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जस्तो सुकै विषम परिस्थितिमा पनि नागरिक मैत्री सेवा प्रवाहलाई केन्द्रबिन्दुमा राखी उच्च निष्ठाका साथ सांगठनिक श्रीवृद्धि तर्फ केन्द्रित रहन नेपाल प्रहरीका सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिए । अमर प्रहरी तथा अशक्त प्रहरी एवम् परिवारजनका साथै अवकाश प्राप्त प्रहरी कर्मचारीहरू र वहाँहरूको परिवारजनको हकहितको लागी नेपाल प्रहरी संगठन सदैव चिन्तनशील रहँदै मन, वचन र कर्मले यथाशक्य सेवा सुविधा प्रदान गर्न दृढ संकल्पित रहेको उनले उल्लेख गरे ।

muluktimes #NepalPolice #police #nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *