डा. मनोज कुमार झा । काठमाडौं

पटकपटक किड्नी थपेरै भएपनि,
निर्लज्जताको हरेक सिमा पार गरेरै भएपनि,
जोसुकैको अगाडि लम्पसार परेरै भएपनि,
ढुक्क रहनुस, म सत्ता छाड्दिन !
देश-मातृभूमि बेचरै भएपनि,
नागरिक-जनता मारेरै भएपनि,
लाज-सरम पचाएरै भएपनि,
ढुक्क रहनुस, म सत्ता छाड्दिन !
जतिसुकै ढाँट्नु नै किन नपरोस् ,
झुठो बोलेरै जनता झुक्याएरै भएपनि,
उखानटुक्का मै लठ पारेरै भएपनि,
ढुक्क रहनुस, म सत्ता छाड्दिन !
यमराजलाई छलेरै भएपनि,
कु-कृत्यको चाङ मै उभिएर पनि,
भ्रष्ट बलात्कारीलाई संरक्षण दिएरै भएपनि,
ढुक्क रहनुस, म सत्ता छाड्दिन !
खरिदबिक्रीमा पोख्त छु,
छलछाम र सेटिङको बादशाह हुँ,
प्रभु भक्ति मेरो रगत मै छ,
ढुक्क रहनुस, म सत्ता छाड्दिन !
पशुपतिनाथलाई त झुक्याउन – ठग्न सफल म,
चुच्चे-थेप्चे नक्सा मै अल्झाउन सफल म,
राष्ट्रवादको भाइरस संक्रमित गराउन सफल म,
ढुक्क रहनुस, म सत्ता छाड्दिन !
वाद र वादी भन्दा निकै माथि म,
निष्ठा र नीति भन्दा निकै माथि म,
त्याग र नैतिकता बोली मै सिमित राख्ने म,
ढुक्क रहनुस, म सत्ता छाड्दिन !
ढुक्क रहनुस, म सत्ता छाड्दिन !
जे होस् जेसुकै होस्, म सत्ता छाड्दिन !
जेसुकै गर्नु परोस्, म सत्ता छाड्दिन !
जुनसुकै स्थिति परिस्थिति अवस्था आओस्,
ढुक्क रहनुस, म सत्ता छाड्दै छाड्दिन ।।