मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०१, मंगलवार

नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति बहुसंख्यक जिल्ला अध्यक्षको आपत्ति देखिएको छ। ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाउदै महासंघकाे मुल ढोका बन्द गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाएका हुन् ।
५२ वटा जिल्ला शाखाका अध्यक्षहरूको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ : ‘नेपाल पत्रकार महासंघको निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समितिले २०८१ भदौ २९ गते प्रकाशन गरेको सदस्यता नामावलीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनीहरुले केन्द्रीय अध्यक्ष विपुल पोखरेललाई सदस्यताकै बहानामा राजीनामा दिन बाध्य पार्ने र तत्कालै राजीनामा स्वीकृत गरेर उनकै हस्ताक्षरसहितको नामावली प्रकाशित गरेर ठुलो प्रश्न चिन्ह खडा गरिएको बताएका छन् ।

शाखा अध्यक्षहरूले पछिल्लो सार्वजनिक सदस्यता नामावलीमा थप भएकाहरूको नाम हेर्दा महासङ्घ केन्द्र आफैँले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्ड २०७९ को विपरीत रहेको आरोप समेत लगाएका छन् । महासंघको निर्वाचन असाेज १२ गतेका लागि तोकिएको छ ।