मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २९, शनिवार

प्रधानमन्त्री केपी शर्मा ओलीले विसं. २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गरेका छन्।
नेपाल बाल सङ्गठनद्वारा ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठूलो सङ्ख्यामा बालबालिकाहरु बेसहारा र अभिभावकबिहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले सङ्कल्प गरेको स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले दिवसका अवसरमा तय गरिएको ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नारालाई सार्थक बनाउनुपर्नेमा जोड दिँदै बालबालिकाहरुले हप्की, दप्की, नियन्त्रण र बन्धनमा होइन उन्मुक्तिमा बाँच्न पाउनुपर्ने बताए ।
कार्यक्रममा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।