मुलुक डेस्क, जनकपुरधाम । २०८१ भाद्र २१

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेको छ । यो सँगै मधेश प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्चशिक्षाको आरम्भ हुने भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री एवम् प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्य्यन अध्यापन यथाशिघ्र आरम्भ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सिंहले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीहरूलाई भेटेर आवश्यक पूर्वाधारलगायतका अन्य मापदण्ड पुरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गरेका थिए ।

प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् । जसमा मधेश प्रदेशका बहुसंख्यक विद्यार्थीले अवसर पाउने विश्वास गरिएको छ । प्रतिष्ठानमा एमबिबिएसको अध्य्यन अध्यापन सुरु भएपछि प्रादेशिक राजधानी जनकपुरधामलगायत मधेश प्रदेशको स्वास्थ्यसेवामा समेत गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ ।
चिकित्साशास्त्रमा एमबिबिएस तहको जनशक्ति उत्पादन हुने थलोको रूपमा विकसित हुँदा जनकपुरधाम लगायत वरपरका क्षेत्रमा आर्थिक गतिविधिमा समेत तीव्रता आउने निश्चितप्रायः छ ।
मुख्यमन्त्री सिंहले एमबिबिएस पठनपाठन सुरु गराउन आवश्यक तयारी तीव्रताका साथ गरी सफलता प्राप्त गरेकामा प्रतिष्ठानका उपकुलपति डा. अंकुर साह, रजिस्ट्रार डा. विनोद यादव लगायतका पदाधिकारी तथा कर्मचारीके सराहना गरेका छन् ।