मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २०, बिहीवार

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार साँझ प्रादेशिक अस्पताल कलैयाकाे आकस्मिक छडके गरेका छन् । प्रदेशका विभिन्न प्रादेशिक अस्पतालहरूमा बिरामीकाे उपचारमा लापारबाही भइरहेकाे जनगुनासाेपछि मुख्यमन्त्री सिंहले केही दिनयता सरकार मातहतका अस्पतालहरुमा छड्के निरीक्षण थालेका हुन् ।

बाराकाे कलैयास्थित प्रादेशिक अस्पतालमा छड्के अनुगमन क्रममा सिंहले बिरामीकाे उपचारमा हेलचेक्रयाइँ नगरी संवेदनशीलता अपनाउन चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई निर्देशन दिए । उनले उपचारमा गरिने ढिलासुस्ती सह्य नहुने भन्दै प्रादेशिक अस्पतालहरूमा उपचार कार्यलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेकाले त्यसअनुसार नै अस्पतालकर्मीकाे व्यवहार हुनुपर्ने बताए ।

मुख्यमन्त्री सिंहले स्वास्थ्याेपचारका लागि खटिने कार्य सामान्य जागिरमात्र नभएर सामाजिक उत्तरदायित्व पनि भएकाले नियमित र पूरा समय काम गर्न अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिए । मुख्यमन्त्री सिंहले अस्पतालका आकस्मिक कक्ष, अन्तरङ्ग कक्षलगायतका विभाग अनुगमन गरेका थिए ।