मुलुक डेस्क, जनकपुर । २०८१ भाद्र १८, मंगलवार

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशमा सुविधा सम्पन्न रङ्गशाला बनाउने बताएका छन् । मधेश प्रदेशमा हालसम्म एउटा पनि रङ्गशाला नभएकाले आफ्नै कार्यकालमा एउटा सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने उनले बताएका हुन् ।

आज सिरहाको लहानमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ सिरहाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले प्रदेशको राजधानी जनकपुरमा एउटा रङ्गशाला नभएको प्रसङ्ग उल्लेख गरे ।

“यहाँका अन्य जिल्लामा पनि छैन, अनि कसरी मधेशमा खेलकुदको विकास हुन्छ ?”, उनले भने । उनले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा यही वर्षभित्र आयोजना हुने जानकारी पनि दिए ।

त्यसपछि ११औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमै हुने र त्यसका लागि सुविधा सम्पन्न रङ्गशाला निर्माण गरिने उनको भनाइ छ । मन्त्री चौधरीले राष्ट्रको सर्वाङ्गीण विकासका लागि खेलकुदको विकास हुनु उत्तिकै जरुरी रहेको धारणा राखे । उनले आफ्ना छोराछोरीलाई खेलकुदमा लगाउन आग्रह गरे । खेलकुदले राष्ट्रको पहिचान र प्रतिष्ठा बढाउने उनले बताए ।

मन्त्री चौधरीले ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी मधेश प्रदेशका वीरगञ्ज, जनकपुरधाम र राजविराजमा पूर्वाधार निर्माणलाई तीव्रता दिने बताए । यसक्रममा जीर्ण रहेको वीरगञ्जस्थित नारायणी रङ्गशालाको केही दिनअघि निरीक्षण गरेको र आइतबार मात्र जनकपुरधामको रामजानकी रङ्गशालाको निरीक्षण गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *