मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०५, बुधवार

युवा तथा खेलकुदमन्त्री तेजुलाला चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंको सोल्टी होटलमा आयोजना गरेको कार्यक्रममा चौधरीले बताएका हुन् ।
नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गर्दै भने, ‘क्रिकेट रंगशालाहरू बनाउनको लागि प्राथमिकतामा राखेर धमाधम काम अगाडि बढाएको छु। धनगढी क्रिकेट रंगशाला, चितवनको अन्तराष्ट्रिय क्रिकेट रंगशाला लगायतका खेल पूर्वाधारहरू सुरू गर्छु।’ उनले क्रिकेटका लागि धनगढीमा बन्न लागेको क्रिकेट रंगशाला तुरुन्तै निर्माण हुने बताए ।

मन्त्री चौधरीले नेपालका मुख्यं शहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणालीमा खेलिने क्रिकेट संघको उद्देश्य एकदमै सराहनीय रहेको भन्दै स्थानीयस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए। टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग आगामी मंसिर १५ गतेदेखि हुँदैछ । १५ मंसिरदेखि हुने प्रतियोगिता ६ पुससम्म चल्नेछ ।