राजेश्वर डी. श्रेष्ठ, काठमाडौं । २०८१ भाद्र ०४, मंगलवार

काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने पर्व हो – गाई जात्रा । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ ।

यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ । श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यो पर्व काठमाडौं उपत्यकाको तीनवटै सहरका साथै मुलुकका मुख्यमुख्य सहरमा मनाउने गरिन्छ।

एक वर्ष अघिदेखि दिवङ्गत आफन्तको सम्झनामा पाएसम्म गाई र नपाएमा मानिसलाई गाईको रुपमा सिँगारी आआफ्नो क्षेत्र वरिपरी घुमाएर यो पर्व मनाउने गरिन्छ। गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दही चिउराका साथै अन्य परिकार पनि खुवाई सम्मान प्रकट गर्छन् ।

गाईजात्राका सम्बन्धमा विभिन्न भनाइ प्रचलित भए पनि राजा प्रताप मल्लसँग जोडिएको प्रसङ्ग भने बढी चर्चामा छ। मल्लको पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन्। लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजा मल्लले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए। यो देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने भनाइ छ।

राजा मल्लले आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भन्ने आज्ञाका आधारमा नै अहिलेसम्म गाईजात्रा पर्व चलेको विश्वास गरिन्छ। यो चलन चलाउँदा पनि रानी पूर्णरुपमा सन्तुष्ट हुन नसकी शोक नै गरिरहेकाले त्यही समयबाट हास्यव्यङ्ग्यात्मक कार्यक्रम पनि सुरु भयो भन्ने विश्वास छ।

राजा मल्लकी रानीलाई देखाउन त्यतिबेला राजदरबार रहेको हनुमानढोका अगाडिबाट लैजान सुरु गरिएको काठमाडाैँका मानिसका गाईजात्रा अहिले पनि हनुमानढोका दरबार अगाडिबाटै लैजाने चलन कायम रहेको छ।

आजको दिन कतिपय मानिसले भने आफ्ना मृतकजनको स्मृतिमा रामायणको करुण रसका गीतसमेत गाउँछन्। गाईजात्राकै अवसर पारेर पाटनमा भने सत्ययुगदेखि सङ्कलन गरिएको विश्वास गरिने धान र चामल सार्वजनिक प्रदर्शनमा राख्ने गरिन्छ।

यस अवसरमा विभिन्न पत्रपत्रिकाले हास्यव्यङ्ग्यात्मक विशेषाङ्क निकाल्छन् भने हास्यसमूहले हप्ता दिनभन्दा बढी गाईजात्रा कार्यक्रम चलाउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *