मुलुक डेस्क, जनकपुरधाम । २०८१ भाद्र ०१, शनिवार

तराई-मधेश लोकतान्त्रिक पार्टीले नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनद्वारा षडयन्त्रपूर्वक गर्न खोजिएको संविधान संशोधनले समावेशी लोकतन्त्रलाई समाप्त गर्न खोजिएको भन्दै आफ्ना कार्यकर्ताहरुलाई सम्भावित संघर्षको निमित्त तैयार रह्न निर्देशन दिएको छ।
आज शनिवार तमलोपा केन्द्रिय कार्यालयको सभा कक्षमा आयोजित प्रशिक्षण कार्यक्रममा तमलोपाका नेताहरुले यस्तो निर्देशन दिए ।तमलोपाद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्वोधनको क्रममा तमलोपा अध्यक्ष पूर्व राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लालले, -“नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनद्वारा उल्लेखित संविधान संशोधनको अन्तर्य अग्रगामी परिवर्तनतिर र जनताले संविधानमा खोजेको संशोधन हुनु नभई समावेशी लोकतन्त्रको अहिले रहेको जे जस्तो स्थितिलाई पनि पछाडि ढकेल्न र प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्वको माध्यमबाट सिमान्तिकरणमा रहेका मधेशी, थारु, आदिवासी-जनजाति, दलित आदिको सहभागिता समाप्त गर्न लक्षित रहेको” ठोकुवा गर्दै यस पश्चगामी षडयन्त्र विरुद्धको संघर्षको निमित्त तयार रहन आग्रह गरेका छन्।

यस्तै “नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन संविधानको कस्तो संशोधन चाहेको हो प्रष्टसंग आधिकारिक रुपमा अक्षरमा किन राख्दैन किनभने तिनको भित्री मनसुबा संविधानको प्रतिगामी संशोधन हो । बडो सुनियोजित तरीकाबाट जनतामा भ्रम छरिंदै छ र त्यसको निमित्त जनताको आँखामा छारो हाल्ने वातावरण बनाउन विदूषकहरु खटाइएको” अध्यक्ष लालको आरोप थियो ।
तमलोपाको बरिष्ठ नेता संविधान सभा सदस्य डा. विजयकुमार सिंहले प्रतिनिधि सभाको निर्वाचन पूर्ण समानुपातिक पद्धतिबाट हुनु पर्ने र निर्वाचन क्षेत्र प्रदेशहरुलाई तोक्नु पर्ने बताउँदै काँग्रेस-एमाले गठबन्धन प्रतिनिधिसभाबाट समानुपातिक प्रतिनिधित्व नै हटाउन खोजेको, संघीय संसदमा प्रदेश र स्थानीय तहको प्रतिनिधि सदन राष्ट्रिय सभाको मूल भूमिका नै समाप्त गर्न चाहेको र स्थायित्वको नाममा काँग्रेस र एमालेले कायम गर्न खोजेको बताए । तमलोपाको वरिष्ठ नेता सिंहले संसदमा प्रतिनिधित्व गर्ने मधेश केन्द्रित भनिने दलहरु यस महत्वपूर्ण विषयमा चुप्पीका साथ सत्ता भोग गर्नुमा लागेको देख्दा दुख लागेको भन्दै तराई-मधेश लोकतान्त्रिक पार्टी यसको विरुद्ध खबरदारी र आवश्यक परे संघर्ष गर्नुबाट पछि नहट्ने भने।
वर्चस्ववादीहरु स्थायित्वको कुरा गरे पनि उनीहरु अन्यहरुको सहभागिताले आत्तिएको उनीहरूको तर्क थियो ।