मुलुक डेस्क, काठमाडौं । २०८१ असार १२२, बुधवार

नेपाल-भारत खुला सीमा सम्वाद समूह पर्साको आयोजनामा वीरगन्जमा बुधबार “खुला सिमा सुमधुर सम्बन्धको सेतु” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल–भारत खुला सीमा सम्वाद समूहका राष्ट्रिय अध्यक्ष डा.राजीव झाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै देशका अगुवाहरुको उपस्थिति रहेको थियो । खुला सीमा नेपाल-भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको कार्यक्रमका वक्ताहरुले बताएका छन् । सीमा सुरक्षाको नाममा मधेशमा सैनिकीकरण भइरहेको र खुला सीमा दुबै देशका जनताको आवश्यकता रहेको अधिकांश वक्ताको ठहर रहेको थियोे ।

समुहका राष्ट्रिय अध्यक्ष डा. झाले इपीजी रिपोर्ट बनाउने समिति समावेशी नभएको र नेपाल-भारत सीमा सम्बन्धि ज्ञान नभएका व्यक्तिहरुले बनाएकोले नमान्ने बताएका छन् । उनले वल्र्ड ग्लोबलाइजेसन तर्फ अग्रसर भैरहेको बेला सीमामा तारबार लगाउने कुरा असान्दर्भिक र हास्यासपद रहेको बताएका हुन् । यसैगरी अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले दुई देशबीच बहुआयामिक सम्बन्ध रहेको बताए । ‘नेपाल र भारतको आधुनिक सीमा र नाम राखिनु अघिदेखि नै जनता-जनताबीच सम्बन्ध कायम थियो ।,’ उनले भने, ‘नेपाल र भारतको सम्बन्ध दिल्ली र काठमाडौंको नियम कानुनले मात्रै चल्न सक्दैन, किनकि यहाँ बहुआयामिक सम्बन्ध छ । खुला सीमा अवसर हो दुवै देशको लागि र यहाँका जनता रक्षक हुन् ।’

कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोरले सीमा सुरक्षाको नाममा मधेशमा सैनिकिकरण भैरहेको बताएका छन् । उनले सीमा क्षेत्रमा रहेका जनताहरुको भावना अनुरुप नियम कानुन बनाउनु पर्ने बताए । यसैगरी भारत रक्सौलका समाजसेवी महेश अग्रवालले खुला सीमा दुबै देशका जनताको आवश्यकता रहेको बताए भने प्रदेश सदस्य श्याम पटेलले सरकारले चाहदैमा बोर्डरमा तारबार लगाउन नमिल्ने जिकिर गरे । प्राध्यापक डा. प्रमोद कुमार कुशवाहाले हाम्रो शिक्षा प्रणाली नै ठीक नभएकोले सीमा सम्बन्धि जानतामा भ्रम रहेको बताएका थिए ।

कार्यक्रममा डा. घनश्याम ठाकुर, नेजामुदिन समानी, कृष्णा पटेल, रम्भा मिश्रा, शिव पटेल, शिपु तिवारी, देवेन्द्र मिश्र, अशोक वैद्य, भारतीय महावाणिज्यदूतावासका शशि भुषण, अनिरुद्ध सिंह कल्वार लगायत समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, अधिवक्ता, पत्रकार, राजनीतिकर्मीको विषेश उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *