मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख २६, बुधवार

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिएको छ ।

समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटी मण्डप क्षेत्र निरीक्षण गर्दै मन्त्री चौधरीले भनिन्, अहिले जसरी बजार सञ्चालन भइरहेको छ त्यसले कुनै पनि बेला खतरा निम्त्याउन सक्छ तसर्थ व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिएको हो ।

चालू आर्थिक वर्षमा ४ करोड बजेट भृकुटीमण्डप प्रदर्शनी स्थलमा रहेको संरचनालाई सेमी पर्मानेन्ट बनाउनका निम्ति रहेको बताइन्। भृकुटी मण्डपमा रहेको प्रदर्शनी हल जीर्ण बनिसकेकोले यो हलको पुनर्निर्माण, स्तरोन्नति गर्न आवश्यक रहेको उल्लेख गरिन ।

भृकुटीमण्डपको पार्क, उद्यान लगायतका क्षेत्रको व्यवस्थापन गर्न समेत निर्देशन दिँदै भाडा नतिर्नेहरूसँग कसरी भाडा उठाउने भन्ने सन्दर्भमा योजना बनाउन निर्देशन दिइन। उनका अनुसार, ‘सरकारी संरचनामा बसेर भाडा नतिर्ने भन्ने हुँदैन । यहाँ भाडामा बसिरहेका तर लामो समयदेखि भाडा नतिर्नेहरूलाई भाडा कसरी उठाउने भन्ने विषयमा योजना सुझाइन् ।’ उक्त अवसरमा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले भृकुटीमण्डप क्षेत्रका जीर्ण संरचनाहरू व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *