मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख १३, बिहीवार

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १२ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहको अध्यक्षतामा भएको यस कार्यक्रममा वर्ष भरी केन्द्रले गरेका प्रगति विवरण कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विरामीको प्रतिनिधित्व गर्ने मृगौला पिडित समाजका अध्यक्ष झमक श्रेष्ठ र मृगौला पिडित सरोकार समाजका संस्थापक अध्यक्ष बलराम सुबेदीले केन्द्रमा कार्यरत सम्पुर्ण कर्मचारीहरुले विरामीको उपचारमा पुर्याएको सेवा र सहयोगको उच्च सम्मान व्यक्त गरे । यसैगरी निर्देशक डा. पुकार चन्द्रले केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स प्राविधिक कर्मचारी, प्रशासनिक कर्मचारी, सुरक्षा गार्ड, सरसफाइका कर्मचारीहरुको निरन्तरको प्रतिवद्धता र योगदानबाट मात्र संभव भएको बताउँदै सबैलाई शुभकामना दिए ।

केन्द्रले २०८० बैशाख देखि चैत्र मसान्त सम्म १८४ जनाको मृर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको कुरा व्यक्त गर्दै केन्द्रले एक वर्ष भरी गरेको प्रगतिको समिक्षा समेत गरे । केन्द्रको नाममा एक इन्च पनि आफ्नो छुटै भवन उपयुक्त जग्गा नभएर थप सेवा दिन असहज भएको कुरा व्यक्त गर्दै केन्द्रको लागि जग्गा तथा भवनको लागि आवश्यक पहल गरिदिन सम्बन्धित सबैमा अनुरोध गरे।

उक्त कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले शुभकामना मन्तव्यका क्रममा केन्द्रले उत्कृष्ट सेवा प्रदान गरिरहेको र आगामी दिनमा पनि अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने विस्वास व्यक्त गरिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. सिंहले केन्द्र स्थापना देखि यसको विकासका लागि आफू निरन्तर सकरात्मक रहेको र आवश्यक सहयोग गरि रहेको र केन्द्रले पनि प्रत्यारोपण क्षेत्रमा स्थापनाको १२ वर्षमा नै यति ठूलो प्रगति गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारी तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा केन्द्रलाई सहयोग गर्ने महानुभाव लाई धन्यवाद व्यक्त गरे ।

उक्त समाहरोहमा केन्द्रमा कार्यरत कर्मचारीहरु मध्ये २०८० सालमा उत्कृष्ट सेवा गरे बापत सिनियर रजिष्ट्रार युरोलोजिष्ट तथा मृर्गौला प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठलाई सर्वाेत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । विरामीहरुको तर्फबाट झमक श्रेष्ठले केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा. कल्पना कुमारी श्रेष्ठलाई सम्मान गरेका थिए ।

१२ औं वार्षिकोत्सव कार्यक्रम आयोजक समितिका संयोजक डा. लुसन सिंहले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका थिए। कार्यक्रममको सञ्चालन केन्द्रका प्रशासन प्रमुख सुषमा महताले गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *