मुलुक डेस्क, काठमाडौं । २०८० फाल्गुन १५, मंगलवार

लोकतान्त्रिक समाजवादी पार्टीमा टुटफुटको समस्या देखिएको छ । पार्टीका केहि सदस्यहरुले प्रेस विज्ञप्ती जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

पार्टीबाट अलग हुने निर्णय अत्यन्त पीडाबोधका साथ हामीले लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग हुने निर्णय गरेका छौँ । लोसपा नेपाल स्थापना हुनु भन्दा अगाडि नै पार्टीको विभिन्न स्वरुपमा सक्रियपुर्वक सुरुदेखि साथ दिइरहेका हामीले पार्टीभित्र देखा पर्न थालेको सांगठनिक एवम् सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भएपनि पार्टी बनाउने अठोटका साथ हिडेका हामीले गलत तत्वहरु नसुध्रिने छाँटकाँट देखेपछि यो अप्रिय निर्णय लिन बाध्य भएका हौँ ।

लोसपा नेपालको श्रद्धये अध्यक्ष महन्थ ठाकुर तथा शीर्ष तहमा विभिन्न जिम्मेवारीमा रहनुभएका केन्द्रिय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृत्ति हावी भएको ठहर गर्दै हामी यो निर्णयमा पुग्न बाध्य भएका हौँ । नेतृत्वले लोसपा नेपाललाई प्राइभेट लिमिटेड सम्झी आफ्नै विरासत सम्झिने गरेका पीडा हामीसँग छ ।
मधेश तथा देश मुक्तिका लागि हामीले विभिन्न आन्दोलनहरुमा सहभागि भई अग्रगामी परिवर्तनको पक्षमा हामीले निरन्तर संघर्ष गरिरहेको सर्वविदितै छ । तसर्थ हामीलाई पहिचान सहितको संघीयता, संघीय लोकतान्तित्रक गणतन्त्र नेपालको संस्थागत विकास र समाजवादी आन्दोलनको मूल प्रवाहबाट पृथक रहने छुट छैन भन्ने कुराको समेत हामीले महसुस गरेका छौँ । अहिले मुलुकले बहुलराष्ट्रिय राज्य स्थापना सहितको समाजवादी राजनीतिक नेतृत्वका साथ सही राजनीतिक कार्यक्रम, राजनीतिक कार्यदिशा दिनसक्ने विचारको खोजी गरिरहेको समेत हामीले महसुस गरिरहेका छौँ ।

मधेश मुक्तिका लागि आफ्नो जीवन दाउमा राखी आन्दोलनमा होमिएका नेता कार्यकर्तालाई राज्यले झुठा मुद्दा लगाई विभिन्न बहानामा जेलमा हाल्ने तथा फसाउने कार्य गरे पनि नेतृत्वले कुनै चासो नदेखाएको पीडा मधेश तथा मधेसी जनतासँग छ । असफल नेतृत्वका कारण मधेश आन्दोलनका योद्धाहरु जेल जीवन बिताउनु परिरहेको तथा मधेशको मुद्दा ओझेलमा परेको छ । यसर्थ बहुलराष्ट्रिय राज्य स्थापना सहित समृद्ध मधेश तथा समृद्ध देश निर्माणका लागि हामीले आवश्यक छलफल गरि नयाँ हिसाबले अगाडी बढी राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा सहभागी हुन पुगेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *