अनिल महासेठ, काठमाडौं । २०८० माघ १०, बुधवार

नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष एवम् मधेशबादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको २२ औं पुण्यतिथिको अवसरमा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले यसपटक “गजेन्द्र बाबूको बिचार र बर्तमानमा मधेशको राजनीति” लगायत बिषयमा काठमाडौ सहित मधेशको विभिन्न जिल्लाहरुमा राजनीतिक, समाजिक अन्तरक्रिया गरेको छ ।

मेची देखि महाकालीसम्मको सम्पुर्ण उत्पीडन बिरुद्ध मधेशीको अधिकारको लडाईको सुरुवात गर्दै मधेशी, जनजाती, मुस्लिम, दलित उपर हुने बिभेद सहितका मधेशीको अधिकारको लडाईलाई मेची देखी महाकालीसम्म स्वभिमान यात्राको सुरुवात गरी मधेशीलाई आफ्नो अधिकारका लागी लडन प्रेरित गर्ने स्व. सिंहको स्मृतिमा गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रको स्थापना गरिएको हो ।

गजेन्द्र बाबू मधेसी जनताको बराबरीको अधिकार, स्वाभिमान, सम्मान र पहिचानको निम्ति अनवरत संघर्षरत रहे । उनले देखाएको पथबाट नै मधेसले केही उपलब्धि पाएको छ र थप उपलब्धिको निम्ति पनि उनले देखाएको समतामूलक समाजको सपनाको निम्ति सम्पुर्ण उत्पीडित र बहिष्करणमा परेकाहरुको एकीकृत आन्दोलन नै स्मृति दिवसको अवसरमा प्रण गर्नुपर्ने बिषय हो ।

गजेन्द्रनारायण सिंह नेपालका राजनीतिज्ञ थिए। उनी नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष थिए। उनको जन्म सप्तरी जिल्लामा भएको थियो। सिंह मधेशको समस्या लिएर धेरै चिन्तित रहे र जीवनभर राजनिती मै होमिए।मधेशको मशिहा भनेर पनि नेता सिंहलाई चिनिन्छ। नेपाल परिवर्तनमा भएको आन्दोलनमा उनी सक्रिय रहे। सिंह संघीयताको मुद्दा उठाउँदा राष्ट्रघातको आरोप समेत भोगेका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सिंहले नेपाली कांग्रेबाट अलग भई पूर्वाञ्चल कांग्रेस गठन गरेका थिए । सन् १९४९ को सत्याग्रह आन्दोलनमा सहभागी भएका सिंह आफ्नै जिल्लामा जेल परेका थिए ।

सन् १९५० देखि ६० सम्म नेपाली कांग्रेसको जिल्ला अध्यक्ष रहेका सिंह १९६० देखि ७७ सम्म कांग्रेसको केन्द्रीय सदस्य रहे । २०३९ सालमा नेपाली कांग्रेस परित्याग गरी २०४० सालमा नेपाल सद्भावना परिषद् गठन गरी २०४७ सालमा नेपाल सदभावना पार्टी बनाएका थिए । २०४० सालपछि नेपाल सद्भावना परिषद् हुँदै उनले २०४७ साल वैसाख ३ गते नेपाल सद्भावना पार्टी गठन गरे । २०४२ सालमा राष्ट्रिय पंचायत सदस्य भएका सिंह २०४८ र २०५१ मा सांसदमा निर्वाचित भएका थिए । सिंहको निधन २०५८ माघ १० गते भएका थियो ।

समतावादी आन्दोलनका सर्जक, मधेस आन्दोलनका प्रणेता गजेन्द्र नारायण सिंहको २२ औ स्मृति दिवसमा हार्दिक श्रद्धा सुमन !

(महासेठ, गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रका संयोजक हुन् )

#muluktimes

Leave a Reply

Your email address will not be published. Required fields are marked *