मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक १७, शुक्रवार

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी चार दिनमा ३१ हजारले अवलोकन गरेका छन्। ललितपुरको जावलाखेल खेल मैदानमा मंगलबारदेखि जारी प्रदर्शनीमा शुक्रबार पूर्वरानी कोमल शाह पनि पुगेकी थिइन्। उनले गोदावरी फूलका विरुवा खरिद गरेकी थिइन्।
आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार शुक्रबार मात्र ११ हजारले प्रदर्शनी अवलोकन गरेका छन्। चार दिनमा ७७ लाख रुपैयाँको कारोबार भएको छ। त्यसमध्ये २५ लाख रुपैयाँको फूल तथा फूलका विरुवा शुक्रबार बिक्री भएको हो।
६१ वटा व्यावसायिक, २ वटा प्रतियोगितात्मक, २ वटा फ्लावर सजावट र ५ वटा सूचनामूलक स्टल रहेको प्रदर्शनी शनिबारसम्म चल्नेछ।