मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक १०, शुक्रवार

भारतको हरिद्वारस्थित पतञ्जली योगपिठले रूपन्देहीमा योग प्रशिक्षण केन्द्र र वेलनेस सेन्टर स्थापना गर्ने भएको छ। पतञ्जलीले रूपन्देहीको धकधईमा एक अर्ब रूपैयाँको लगानीमा आयुर्वेदिक औषधालय पनि सञ्चालन गर्ने जनाएको छ।

योगपिठका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जडिबुटीको भण्डार रहेको र तिनै जडिबुटीको सदुपयोग गर्दै आयुर्वेदिक औषधि उद्योग सञ्चालन गर्ने जनाएका हुन्। ’नेपालका हरेक वनजंगल, पहाड, खोला खोल्सीमा जडिबुटीहरूको भण्डार छ। तर ती जडिबुटीको उचित प्रयोग हुन सकेको छैन,’ आचार्य बालकृष्णले भने।जडिबुटी बिक्रीका लागि कुनै पनि बजारको खोजी गर्नुनपर्ने समेत उनले बताए।’जडिबुटी उत्पादन गर्न सके बिक्रीका लागि बजारको खोजी नै गर्नुपर्दैन। नेपालमा जडिबुटीको उत्पादन गरेर विदेशमा निर्यात गर्न सकिन्छ,’ उनले भने।

उद्योग स्थापना भएपछि ५ सय बढीले रोजगारी पाउने र उनीहरू अधिकांश स्थानीय नै हुने उनले बताए। साथै आफैंले जडिबुटी संकलन गर्ने र उद्योगलाई बिक्री गरेर एक हजार जनाभन्दा बढीले अप्रत्यक्ष रूपमा रोजगारी पाउने पनि उनको भनाइ छ। आचार्यका अनुसार नेपालमा एक लाखभन्दा बढी पतञ्जलीका योग प्रशिक्षक छन्। आचार्य बालकृष्णले नेपाल बुद्धको देशको रूपमा विश्वव्यापी बनेको बताउँदै पशुपतिनाथ मुक्तिनाथ, माता जानकी र बाल्मिकी आश्रमको क्षेत्र भएको बताए।

४० वर्षपछि पहिलोपटक दशैं मनाउन गृह जिल्ला स्याङ्जा आएका आचार्य बालकृष्णले पाल्पाको बसन्तपुरमा पत्रकार सम्मेलन गरेका थिए। उनले नेपाल र भारतको राजनीतिक सीमा र सम्बन्ध फरक भए पनि सांस्कृतिक विरासत एउटै भएको बताउँदै त्यसलाई कसैले अस्वीकार गर्न नसक्ने बताए।’

नेपालको राजनीतिक सीमा फरक छ। हामी त्यसलाई अस्वीकार गर्न सक्दैनौं। तर दुवै देशको सांस्कृतिक विरासत एक छ। जीवन राजनीतिक सीमाबाट होइन हृदयको मिलनबाट चल्छ। हृदयको मिलन संस्कृति र सनातनबाट अखण्ड छ। तसर्थ भारत र नेपालको सम्बन्ध कहिल्यै बिच्छेद हुन सक्दैन,’ उनले भने। उनले प्राकृतिक सुन्दरता, आवतजावतको सहजता, भाषिक, धार्मिक, सांस्कृतिक समानताले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको उल्लेख गरे।’ उनले भने, ‘दुई देशबीच सनातन संस्कृति, वैदिक परम्परा, भाषिक, धार्मिक, सांस्कृतिक समानता र रोटीबेटीका सम्बन्धले पनि सहज छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *