डा. मनोज कुमार झा, काठमाडौं । २०८० असोज २९, सोमवार

“वर्चस्ववाद” को लपेट र चपेटमा “मानव सभ्यता” गाजिएको छ । यो यस्तो यथार्थता हो जसलाई २-४ हजार शब्दले व्याख्या-विश्लेषण गर्न सम्भव हुँदैन होला, त्यसैले एकदमै संक्षिप्तमा प्रस्तुत गर्ने कु-चेष्टा गर्दैछु ।
हाल सम्पूर्ण विश्वमा देखिएका घटना-परिघटना, दृश्य-परिदृश्य र यसले भविष्यमा पार्ने प्रभाव एकदमै डरलाग्दो, भयावह, विनाशकारी एवं विध्वंसकारी देखिदैछ । नेपाल र नेपालीको सन्दर्भमा भन्नुपर्दा झनै डरलाग्दो अवस्था छ, जुन हामी सबै सचेत मानव समाजले सहजै महसुस गरिरहेकै छौं ।
यसमा भन्न खोजिएको “वर्चस्ववाद” भनेको के हो त ?
“पन्थ” र “ब्यक्तिगत विचार” लाई “धर्म” भनेर “प्रलोभनवादी प्रचारवादमा आधारित ब्यक्तिवादी वर्चस्व” को थालनी गरियो, जसलाई “वर्चस्ववाद” भनिन्छ ! जुन “दानवीय” छ ।
“आस्तिक र नास्तिक”, “शाकाहारी र मांसाहारी”, “सापेक्ष/सापेक्षता र निरपेक्ष/निरपेक्षता”, “दलित र जनजाति”, “आदिवासी र मुलवासी”, “राष्ट्रवादी र देशभक्त”, “अधिकार र पहिचान”, “केन्द्रित र विकेन्द्रीकृत”, “संस्कार र सभ्यता”, “इतिहास र परम्परा”, “मौलिकता र संस्कृति”, “आधुनिकता र भौतिकवाद”, “अध्यात्म, ज्ञान, बिज्ञान र वेद”, “राष्ट्र, राज्य, देश, सत्ता, जनमत, जनचाहना, अभिमत, स्वायत्तता, आत्मनिर्णयको अधिकार, स्वाधीनता, स्वतन्त्रता, प्रतिनिधि, राजा, राजसंस्था, मित्र, संविधान, राज्य-ब्यवस्था” जस्ता कैयौं शब्दहरुको शाब्दिक अर्थ, तात्विक यथार्थता र उपयोगिता मा भिन्नता वा समानता बुझ्न नसक्नु वा बुझपचाउनु अथवा नबुझाउनु नै “आधुनिक दानवीय प्रवृत्ति” हो, “वर्चस्ववाद” हो।
यदि “पन्थ” नै मान्ने हो र “कर्म-प्रधान्ता एवं आधुनिकता र भौतिकवाद” नै अङ्गाल्ने हो भने “गीता” नै सर्वश्रेष्ठ हो । किनकि,
आज “वर्चस्ववादी बहस” मा ल्याइएका वा “मानव सभ्यता” लाई विनाश गर्नेगरी अथवा हुनेगरी जबर्जस्त तरिकाले लाद्न खोजिएका “आशमानी किताब / कुरान”, “बाइबल”, “मार्क्स-लेलिन-माओ का बिचार-सिद्धान्त”, “चानक्य, विवेकानन्द, ओशो-रजनिश” लगायत विश्व पटलका अन्य थुप्रै दार्शनिक, तर्कशास्त्री, धर्मगुरु, योगी-महात्मा का विचार, दर्शन, सिद्धान्तहरुको सार-तत्व नै “गीता” हो ।
“गीता” कुनै धर्मग्रन्थ होईन, जिवनको सार-तत्व हो । त्यस्तै, “रामायण” पनि कुनै धार्मिकग्रन्थ/धर्मग्रन्थ वा काल्पनिक कथा होइन, “रामायण” त इतिहास हो “मर्यादा” को, यसले “मर्यादा, संस्कार, मानवता, पराक्रम, बिज्ञान, आविष्कार, राजनीति” लगायतका “जीवन उपयोगी यथार्थता सिकाउछ”, हेक्का रहोस् रावन एक प्रगाढ पण्डित, तन्त्र-विज्ञानका ज्ञाता, त्रीलोक विजय महारथी महान पराक्रमी योद्धा, महान शिवभक्त थिए, रावणका माहिलो भाइ कुम्भकर्ण भौतिक बिज्ञान र रसायन बिज्ञान का महान बैज्ञानिक एवं महा पराक्रमी महाशक्तिशाली योद्धा थिए भने रावणका कान्छा भाइ बिभिषण जीव बिज्ञान एवं आयुर्वेद का महान बैज्ञानिक थिए।
त्यस्तै, “महाभारत” पनि कुनै धर्मग्रन्थ वा काल्पनिक कथा होईन यसले “राजनीति, कुटनीती, युद्धनीति, अर्थनीति, विदेशनीति, मित्रता, समर्पण, भाइचारा, कर्म-प्रधानता, भौतिकवाद, नीति-बिज्ञान, मानव-जीवन, जीवनशैली” लगायतका विविध विषयवस्तुहरु सिकाउछ ।
“धर्म” एउटै हो र त्यो हो “मानवधर्म” !
“वाद” एउटै हो र त्यो हो “मावतावाद” !
“समानता र समानुपातिक प्रतिनिधित्व” नै “समाजवाद” हो !
“सर्वोत्कृष्ट शासन ब्यवस्था भनेको जनतन्त्र हो”, “जनतान्त्रिक शासन ब्यवस्था” हो ।
किनकि, माथि उल्लेखित सम्पूर्ण विषयवस्तुहरुको समुचित ब्यवस्थापन र उचित समायोजन भनेको नै “जनतन्त्र” हो ।
पूर्णता र सम्पूर्णता भनेकै “वेद र सनातन” हो, बाँकी सब “मिथ्या” !
(डा. झा, राष्ट्रिय नागरिक आन्दोलनका राष्ट्रिय संयाेजक हुन् )