मुलुक डेस्क, काठमाडौं । २०८० असोज १९, शुक्रवार

करिब १ सय ४० किलोमिटर लामो सडकमार्ग हुँदै काठमाडौंबाट चितवन पुग्न करिब ४ घण्टा लाग्छ। एक्सप्रेस वेका नाममा निर्माणका लागि प्रस्ताव गरिएको लगानी बोर्डको अध्ययन अनुसार चन्द्रागिरी-चित्लाङ-पालुङ हुँदै चितवन ९६.५ किलोमिटर लामो एक्सप्रेस वे निर्माण भए चितवन ५७ मिनेटमै पुगिनेछ।
लगानी बोर्डले गरेको अध्ययनले यो सडक बनाउन २ खर्ब २१ अर्ब १२ करोड रुपैयाँ लाग्ने देखाएको छ। बोर्डको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार एक्सप्रेस वे निर्माणका लागि प्रतिकिलोमिटर २ अर्ब २९ करोड १३ लाख रुपैयाँ खर्चनुपर्छ। निर्माण गरिए यो नेपालमा अहिलेसम्मकै महँगो सडक हुनेछ।
बोर्डको अध्ययन अनुसार एक्सप्रेस वेमा विभिन्न ठाँउमा गरि २९.८ किलोमिटर सुरुङ मार्ग, विभिन्न ठाँउमा गरि ९.५३० किलोमिटर पुल र सानाेठूलाे गरि ५६ वटा कल्भर्ट बनाउनु पर्नेछ। चार लेनको एक्सप्रेस वेमा हरेक लेन ३.५ मिटरका हुनेछन्। प्रतिघण्टा ८० देखि १२० किलोमिटरको गतिमा एक्सप्रेस वेको डिजाइन गर्नुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ।

नेपालमा अहिलेसम्म एक्सप्रेस वे निर्माण गरिएको छैन। सरकारले विभिन्न राजमार्गलाई एक्सप्रेस वे बनाउने भनेपनि कार्यान्वयन गरिएको छैन। नेपाली सेनाले काठमाडौं-तराई फास्ट ट्रयाक निर्माण गरिरहेको छ। करिब ७१ किलोमिटर लामो फास्ट ट्रयाक निर्माणमा २ खर्ब ११ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । नेपालमा अहिलेसम्म यति धेरै गतिमा दौडाउन मिल्ने एउटै सडक छैन। निर्माणाधीन काठमाडौं-निजगढ फाष्ट ट्रयाकमा समेत यात्रा अवधि करिब एक घण्टाको हुने भनिएको छ।