मुलुक डेस्क, महोत्तरी । २०८० असोज १५, सोमवार

“नगरपालिकाको केन्द्रबिन्दु रहेको मनरा बजारदेखि भोल्हीकाे उत्तरी चोकसम्म सडक सफाई अभियान संगै सडक पेटीमा रेलिङ, बृक्षा रोपन, लाइट र सिसिटिभी पनि जडान गरि नगर सफा र स्वच्छ राख्ने मेयरको अभियानलाई मुर्तरुप दिने तयारी रहेको अधिकृत चौधरीको भनाइ छ।”

मनरा शिसवा नगरपालिकाले चाडपर्वलाई लक्षित गरेर प्रत्येक वडामा नगरपालिका, वडा र नगरवासी मिलेर सडक सफाई अभियान गर्न थालेको छ ।
यसै क्रममा वडा नम्बर २ र वडा नम्बर ८ मा बिगत केही दिनदेखी यो सफाई अभियान कार्य सुरु भएको देखिन्छ । मुल बाटाे संगै सहायक बाटोहरुमा राखिएका वस्तुहरु खालि गर्नको लागि पटक पटक वडाद्वारा सुचना जारी गर्दा पनि नहटाएकोले र बेवास्ता गरेकोले अभियान तिब्र गरिएको सम्बन्धित वडा अध्यक्षले बताए ।

यसैगरी सबै वडामा क्रमशः यो अभियान लागू हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले बताए । चौधरीका अनुसार दशैं तिहार छठ् को अवसरमा सबै वडाको मुल बाटो र सहायक बाटो सफा पारिनेछ । यसका साथै नगरपालिकाको केन्द्रबिन्दु रहेको मनरा बजारदेखि भोल्हीकाे उत्तरी चोकसम्म सडक सफाई अभियान संगै सडक पेटीमा रेलिङ, बृक्षा रोपन, लाइट र सिसिटिभी पनि जडान गरि नगर सफा र स्वच्छ राख्ने मेयरको अभियानलाई मुर्तरुप दिने तयारी रहेको अधिकृत चौधरीले मुलुक टाइम्ससंगको सम्वादमा साझा गरेका छन् ।

प्रत्येकको वडामा समस्याको रुपमा रहेको बाटोमा ट्रयाक्टरकाे टेलारी, काठ, बालुवा, गिट्टी, इट्टा, माटाे, टायर राख्नु, पसलको बार्दली, नालामाथी घेराबेरा, गाई बाख्रा पालन आदि गर्दै आएकोले कुरुप देखिनु लगायत दुर्घटना समेत बढन थालेको छ । बजार, चोकमा डिभाइडर नहुनु, पार्किङको व्यबस्था नगरिनु पनि दुर्घटनाको प्रमुख कारण बनेको छ ।
सडक र सहर सफा तथा सौन्दर्यीकरण गरिनु, ट्राफिक बत्ती र ब्यबस्थापन, बाटो खुला हुनु र बोटबृक्ष रोपन गरि हरियाली बनाउनु लगायत सिसिटिभी क्यामेरा जडान गरि चोरी र दुर्घटनाको पत्ता लगाउनमा सहज हुने कार्य नगरपालिकाका मेयरले अविलम्ब गर्न जरुरी देखिन्छ ।