मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र २१, बिहिवार

मानवअधिकार संरक्षण र सम्बर्द्धनको लागि मधेशी आयोग र भारतको राष्ट्रिय मानवाधिकार आयोगले आगामी दिनमा सहकार्य गर्ने भएको छ ।
भारतको नयाँ दिल्ली स्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त तथा भारतीय मानवअधिकार आयोगका अध्यक्ष जस्टिस अरुण मिश्र बीच भएको द्विपक्षीय भेटवार्तामा दुवै अधिकारमुखी आयोगहरु आगामी दिनमा मानवअधिकारको संरक्षणको लागि साझा रुपमा अगाडी बढ्ने विषयमा सहमत भएको हो ।

दुवै देशका नागरिकको मानवअधिकार संरक्षण र सम्बर्द्धन सम्बन्धि छलफलमा नेपाल-भारत सिमामा हुने मानव तस्करी, लागुपदार्थ ओसार-पोसार जस्ता गैर-कानुनी गतिविधिहरु माथि दुवै आयोगले साझा रुपमा अनुगमन गर्ने समेत छलफल भएको छ । सो छलफलको क्रममा मधेशी आयोगका अध्यक्ष डा.दत्तले मधेशी आयोग सदैव नागरिक तथा देशको हितमा काम गर्न सकारात्मक रहेको र त्यस्ता कार्यको लागि मानवअधिकार आयोगसंग सहकार्य गरी अगाडी बढ्ने निर्णय आफैमा ऐतिहासिक हुने बताएका छन् ।
मानवअधिकार आयोगका अध्यक्ष अरुण मिश्रले मधेशी आयोग संग सहकार्य गर्नु आफैमा गौरवान्वित विषय भएको र मानवअधिकार संरक्षणको लागि आयोग सधै तत्पर रहेको बताएका छन् ।
