“करोडौंको रकम मिलान र पर्छ्यौट गर्न बाकी राखेका यादव पुनः सोर्सफोर्स लगाई यसै पालिकामा सरुवा हुन लागेको”
रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २०, बिहिवार

मधेश प्रदेशमा पर्ने महोत्तरी जिल्ला मनरा शिसवा नगरपालिकाका पुर्व प्रशासकीय अधिकृत रन्जित कुमार यादवको बरबुझारत बेहाल अवस्थामा रहेको प्रमाण खुलेको छ।
करिब ६ वर्षभन्दा बढी समय मनरा शिसवा नगरपालिकामा कार्यरत रहेका यादवले करोडौं रकमको हिसाबकिताब अहिलेसम्म पनि बरबुझारत नगरेको खुलासा भएको छ । करोडौंको रकम मिलान र पर्छ्यौट गर्न बाकी राखेका यादव पुनः सोर्सफोर्स लगाई यसै पालिकामा सरुवा हुन लागेको नगरपालिकाभरी चर्चा रहेको छ ।
पटकपटक नगरपालिकाले पत्र काटेर तागेदा गर्दा पनि हिसाब मिलान गर्न नआएको गुनासो वर्तमान अधिकृत माघवेन्द्र चौधरीको रहेको छ । नगरवासी लगायत अनेकौंको नाममा तिर्न बाकी रहेको रकममध्ये धेरैको अभिलेख र प्रमाण नरहेकोले भुक्तान दिन कठिनाई परेको अधिकृत चौधरीले बताए । र यस्तो अवस्थामा यादवको पुनःआगमनले पालिकाको मनोदशा र दिशा कता जाने हो? दैवले जानुन !
नगरपालिका रहेको पुरानो घरभाडा विवाद देखि विविध शिर्षकमा गरेको निकासाप्रति नगरबासीको दुखेसो रहेकै छ। महालेखा परीक्षकको लेखा प्रतिवेदन अनुसार २०७९ असार मसान्तसम्म रु १३ करोड ८६ लाख ९५ हजार बेरुजु देखिएकाे छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७९/०५/२० को पत्रानुसार मिति २०७९/०५/२६ रमाना लिई मनरा शिसवा नगरपालिकाबाट सरुवा भई गएका पालिकाका पुर्व अधिकृत यादव बरबुझारत नगरी गएको हुँदा उनलाई पालिकाले विभिन्न मितिमा गरि विगत एक वर्षमा तीन पटक पत्र काटिसकेको छ । मनरा शिसवा नगरपालिकामा रहँदा निकै विवादित बनेको यादव आफना विरोधीलाई पैसाको जोडमा मुख बन्द गर्न लगाउने गरेको आरोप नगरवासीले लगाउदै आएका छन् ।

आ व २०७९/८० सम्मको महालेखा परीक्षणकाे लेखा प्रतिवेदन अनुसार:-
१. नगरपालिकले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्बजनिक क्षेत्र लेखामानको ढाचा पुर्णरुपमा प्रयोग गरि बितिय विवरण तयार गरेको छैन ।
२. लेखापरीक्षकबाट रु १३ करोड ८६ लाख ९५ हजार बेरुजु देखिए छ। सो समन्धमा प्रतिक्रिया उपलब्ध नभइ बाकी बेरुजु असुल गर्नुपर्ने रु ६६ लाख ८८ हजार, प्रमाणका कागजात पेश गर्नुपर्ने रु ९ करोड ३८ लाख १४ हजार, नियमित गर्नुपर्ने रु ३ करोड ८१ लाख ९३ हजार रहेको छ । नगरपालिकाको गत बर्ष सम्म रु ४७ करोड २७ लाख ८ हजार बेरुजु बाकी रहेकोमा हाल सम्मको अधावधिक बेरुजु रु ६१ करोड १४ लाख ३ हजार रहेको छ ।
३. नगरपालिकाको लेखापरीक्षणको स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थ परक नभएको, असुली लक्षअनुसार नभएको, कर्मचारीको दरबन्दी अनुसार स्थाइ पदपूर्ति नभएको कारण बिकास निर्माण र सेवा प्रबाहमा प्रभावकारिता नाआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, बितरणमुखी कार्यक्रम संचालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कम्जोर रहेको, लगायतका बेहोरा लेखापरीक्षण प्रदिबेदनमा औल्याइएको छ ।
४. आम्दानी तथा खर्चको स्रेस्ता नगदमा आधारित लेखा प्रणाली अबलम्बन गरेकोले पालिकाको पेस्की बाहेक सम्पत्ति तथा दायित्व हुने कुनै जानकारी खुलाएको छैन ।
