रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र ०२, शनिवार

नेपाली राजनीतिका बौद्धिक एवम् चिन्तनशिल काङ्ग्रेसी नेता प्रदिप गिरिको श्रद्धाञ्जली अर्पण सभा काठमाडौंमा एक कार्यक्रमको बीच मनाइएको छ । नेता गिरि सम्पुर्ण नेपालीको साझा नेताको रुपमा स्वीकारिएका नेता थिए । उनको अध्ययन, विश्लेषण र प्रस्तुतिमा गजबको जादु थियोे ।
स्वर्गीय नेता गिरिको श्रद्धाञ्जली अर्पण सभामा पुर्व उपप्रधानगृहमन्त्री बिमलेन्द्र निधि, प्रदिप गिरिका स्वकीय सचिव मन्दिप भारती, राजनीतिज्ञ पदम बहादुर थापा, प्राज्ञ धीरेन्द्र प्रेमर्षि सहितको उपस्तिथि रहेको थियो ।

समाजवादी चिन्तक, लोकतान्त्रिक चेतनाका मूल, नेपाली कांग्रेसका वैचारिक नेता प्रदीप गिरिको पहिलो वार्षिकीको अवसर पारेर ‘प्रदीप गिरिको पावन स्मृतिमा लोक एवं लोकतन्त्र सेतु गाथा काठमांडूदेखि काशीसम्म’ कार्यक्रम आयोजना गरिएको छ ।
चार दिवसीय यात्रामुलक कार्यक्रम अन्तर्गत प्रदीप गिरिका बहुआयामिक पक्षबारे चर्चा गर्न काठमाडौं (२ गते विहान), हेटौंडा (२ गते साँझ), वीरगञ्ज (३ गते विहान) र वनारस (४ गते साँझ) मा कार्यक्रम गर्ने तयारी गरिएको छ । त्यस्तै यात्राका क्रममा नेपाल र भारतका पवित्र नदिहरूमा उनको अस्तु विसर्जन गरिने छ ।

एक राजनेताकारूपमा प्रदीप गिरिको प्रभाव त निशन्देह छ नै, तर वहाँको विरासत राजनीतिभन्दा परसम्म फैलिएको छ। हाम्रो समाज, संस्कृति, साहित्य, इतिहास समृद्ध बनाउन उनको दखल र देन उच्चकोटीको छ। अव्यवस्थित तर आनन्ददायी जीवन जीउने व्यक्तिकारूपमा परिचित गिरि आफ्नो चिन्तनमा भने उल्लेखनीय रूपमा संगठित र विचारशील हुनुहुन्थ्यो। सामाजिक-राजनीतिक जीवनमा सृजनशिलता बढाउन उनको विचार र दर्शनले निकै अर्थ राख्दछ।
प्रदीप गिरि नेपाल-भारत मैत्रीका एक प्रमुख स्तम्भ पनि हुनुहुन्छ। उनलाई अलग राख्दा भारतीय लोकतान्त्रिक आन्दोलनको इतिहास पनि पूर्ण हुँदैन। प्रदीप गिरिका भारतीय मित्रगण र सुभेच्छुकहरू पनि यस लोकमा उनको योगदान विशिष्ट ठान्छन्। र, नेपाल-भारत सम्बन्धमा उनलाई सेतुका रूपमा बुझ्छन्। त्यसैले त भारतीय मित्रहरूले प्रदीप गिरिलाई ‘हिमालयको धिरज र गंगाको गतिशिलता’ को अर्थपूर्ण उपमा दिएका छन्। अर्थात प्रदीप गिरि नेपालको मात्र नभई छिमेकी मित्रराष्ट्र भारतका समेत निधि हुन् ।

प्रदीप गिरी
(जन्म: वि.सं. २००२ कात्तिक २१ – मृत्यु:२०७९ भदौ ५)
प्रदीप गिरिको जन्म २००४ सालामा सिराहाको बस्तीपुरमा भएको थियो । बुबा मित्रलाल गिरि र पुन्यप्रभाका पुत्र गिरिले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।
नेपालका सबैजसो शान्तिपूर्ण राजनीतिक आन्दोलनमा उनी सहभागी थिए । त्यसक्रममा उनी कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका सहयात्रीसमेत भए । राजनीतिक संघर्षकै क्रममा गिरिले करिब तीन वर्ष जेलजीवन बिताए ।
०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय उनी ०५६ को आमचुनावमा पराजित भए । ०६४ र ०७० को संविधानसभामा समानुपातिक सांसदको रूपमा संविधान लेख्ने कार्यमा सक्रिय गिरिले ३ असोज ०७२ मा जारी संविधानमा भने हस्ताक्षर गरेनन् ।
त्यसपछि ०७४ मा भएको संघीय निर्वाचनमा उनी प्रत्यक्षतर्फ निर्वाचित भए । पटक–पटक सांसद बनेका गिरिमा सत्ता प्राप्तिको लालसा कहिल्यै देखिएन । गिरिका लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
घाँटीको क्यान्सरबाट पीडित गिरीको ७६ वर्षको उमेरमा २०७९ भदौ ५ गते ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
