रोशन कुमार मिश्र, महोत्तरी । २०८० साउन ०३, बुधवार

महोत्तरीको मनराशिसवा नगरपालिकाका मेयरको विरुद्धमा मेयरलाई नै ज्ञापनपत्र सर्वदलीय नेता, कार्यकर्ता एवम् स्थानीयले बुझाएको छ। नगरपालिकाको १० वडाध्यक्षमध्ये ७ वडाध्यक्ष सहित सर्वसाधारणले ज्ञापनपत्र बुझाउनमा साथ दिएका थिए । र बाकी ३ वडाध्यक्ष पनि दबाबमा रहेकोे स्रोतको दावी रहेको छ ।

आजको ज्ञापनपत्र मनराशिसवा नेपाली काङ्ग्रेसका नगर सभापति संजिव कुमार यादवको अगुवाइमा बुझाइएको थियो । उक्त कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम् पुर्व मेयर संजय कुमार सिंह, माओवादी नेता एवम् पुर्व मेयरका प्रत्यासी राजेन्द्र साह, एमाले नेता मनोज यादव, जनमतका शत्रुधन सहनी, काङ्ग्रेसका नेता एवम् पुर्वप्रदेश सांसदका प्रत्यासी दिपतान्शु प्रताप सिंह, स्थानीय काङ्ग्रेस नेता एवम् पुर्व वडाध्यक्षका प्रत्यासी अमोद कुमार सिंह लगायत धेरै नेताहरुको सहभागिता रहेकोे थियो।

मेयर मोहन पाण्डेयले आफ्नो मनोमानी ढंगले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको, संघ र प्रदेशको बजेटलाई आफुखुशी प्रयोगमा ल्याएको, एकलौटी नगर परिषद गरेको, प्रायोजित योजनामा मात्रै बजेट विनियोजन गरेको, आयव्यय पारदर्शी नभएको लगायतका माग राखी हिजो साउन २ गते मंगलवार मनरामा बसेको सर्वदलीय बैठकले गरेको निर्णय अनुसार आज साउन ३ गते बुधवार नगरवासीले मेयरलाई ज्ञापनपत्र बुझाएको छ ।

वर्षदिन देखिको मेयरको कार्यसम्पादन र सुशासन एकदम फितलो रहेको, आफनो जाती समुदायलाई मात्र स्थान दिदै आएको, प्राथमिकताको आधारमा कार्य नगरेको, चुनावका ताका गरेको वाचा प्रतिबद्धता पूरा गर्न नसकेको आरोप नगरवासीले लगाएको छ । शिक्षाको नाममा संस्कृत र संस्कृतको नाममा योग बाहेक होम र जाप गर्न मै वर्ष दिन बिताएको आरोप स्थानीय जनसमुदायको रहेको छ ।


