मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख २३, शनिवार

पोखरामा शनिवार आयोजित सातौं पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रममा नेपाली क्रिकेट टोलीका करण केसी र फुटबल टोलीकी सावित्रा भण्डारीले वर्ष उत्कृष्ट खेलाडी पुरुष/महिला को उपाधी जितेका हुन् ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा सभागृहमा आयोजना गरेको कार्यक्रममा केसी र भण्डारीले एक/एक थान टेल्जि इलेक्ट्रिक स्कुटर पनि प्राप्त गरेका छन् ।
यस्तै वर्ष उत्कृष्ट उदीयमान खेलाडीको पुरस्कार क्रिकेटका सुवास भण्डारीले पाएका छन् । यु-१९ विश्वकप क्रिकेट छनोटमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका भण्डारी उदीयमान खेलाडी बनेका हुन् । वर्ष उत्कृष्ट प्रशिक्षक आर्चरीका किशोरकुमार गुरुङ भए र लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङका विष्णुप्रसाद मर्सानीले पाए । ३५ वर्ष बक्सिङको प्रशिक्षक बनेका उनलाई शनिबार ताम्रपत्र, करुवाले सम्मान गरिएको छ ।
उत्कृष्ट खेल संस्थाको पुरस्कार कास्की जिल्ला हृयान्डबल संघले पाएको छ । यस्तै वर्ष उत्कृष्ट खेल पत्रकार पुरस्कार एपीवान टेलिभिजनमा कार्यरत सागरराज तिमिल्सिनाले प्राप्त गरे । सबै विधाका विजेताले नगद ३५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।