मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख १२, मंगलवार

साहित्यकार तथा संस्कृतिविद् प्राज्ञ धीरेन्द्र प्रेमर्षि र साहित्यकार-सञ्चारकर्मी रूपा झाले पिता पं. कृष्णलाल झाको स्मृतिमा सामुदायिक विद्यालयको शिक्षण तथा शैक्षणिक उन्नयनमा उल्लेख्य योगदान पुर्याउने विशिष्ट शिक्षासेवीहरूलाई वर्षेनी पुरस्कृत गर्नेगरी पुरस्कारको स्थापना गर्नुभएको छ।
जेठा छोरा अक्षेन्द्र झाको जन्मदिन (बैशाख १२ गते) का उपलक्ष्यमा छोराद्वारा नै राखिने अक्षय कोषबाट प्रदान गर्नेगरी वार्षिक रु. ५१,०००/— (एकाउन्न हजार रुपैयाँ) को पं. कृष्णलाल झा स्मृति शिक्षा पुरस्कारको स्थापना गरिएको जानकारी प्राज्ञ प्रेमर्षिले दिए ।
वि.सं. २००४ सालमा स्थापित भई नेपालको पूर्वाञ्चल क्षेत्रमै उल्लेख्य शैक्षणिक प्रतिष्ठानका रूपमा सुपरिचित सिरहा जिल्लास्थित बस्तीपुर माध्यमिक विद्यालयका संस्थापक शिक्षकमध्येका एक पं. कृष्णलाल झाले उक्त विद्यालयमा अविच्छिन्न रूपले सबैभन्दा लामो समयसम्म शिक्षण गरेका थिए ।
शिक्षासेवी झाको स्मृति दिवसका दिन बस्तीपुर (सिरहा) स्थित उहाँले अध्यापन गर्नुभएको विद्यालय परिसरमै पुरस्कार समर्पण समारोह आयोजना गरिने जानकारी दिँदै बस्तीपुर मा.वि. बाट एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने एकजना छात्र/छात्रालाई रु. ११०००/— (एघार हजार रुपैयाँ) को कृष्णानन्दी प्रोत्साहन पुरस्कार वा सोही विद्यालयमा कक्षा ११-१२ अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ।
पं. झाकी धर्मपत्नी आनन्दीदेवी झा प्रमुख संरक्षक र जेठा छोरा राजेन्द्र झा संरक्षक रहनुभएको पुरस्कार कोष सञ्चालनका लागि प्राज्ञ प्रेमर्षिको अध्यक्षतामा बस्तीपुरका प्रवुद्ध व्यक्तित्वहरू कुमुदरञ्जन बराल, शेखर गिरी, डा. रेणु अधिकारी, धर्मेन्द्र झा ‘विह्वल’, गोविन्द यादव, जुगुत राम, राकेश रेग्मी र रूपा झा सदस्य तथा देवेन्द्र झा, योगेन्द्र झा, वीरेन्द्र झा, महेन्द्र झा, जीतेन्द्र झा, विमला झा र विभा झा सहितको सल्लाहकार समिति रहेको छ।