कृष्ण सिंह, सर्लाही । २०७९ फाल्गुन ०९, मंगलवार

सर्लाहीको मलंगवा नगरपालिकामा पनि फागुन ११ गतेदेखि १२ वटै वडामा एकैसाथ हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।
मंगलबार नगरपालिकाको सभाहलमा राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम-२०७९ आम औषधि सेवन अभियान अन्तर्गत आयोजित स्थानीय तह स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा नगरभित्र फागुन ११ गतेदेखि नगरवासीलाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको जानकारी गराइएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक रामनन्दन राय यादवले नगरभित्र करिव ६० हजार जनालाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य रहेको बताए । उनले फागुन ११ गतेदेखि २ सातासम्म अभियान चलाउने केन्द्रबाट निर्णय भएको र आफूहरुले सकभर हप्तादिनभित्रै अभियान सक्ने गरी काम गर्ने बताएका छन् । गोष्ठीमा मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले हात्तिपाइलेको औषधि भनेपछि अहिले पनि समाजमा अनेक भ्रम र हल्ला ब्याप्त रहेकाले सबैले कुनै शंका नगरी औषधि सेवन गरी अभियानलाई सफल बनाइदिन आग्रह गरे । नगरपालिकाका मेयर यादवले फागुन ११ गते आफै स्वयं औषधि खाएर यो अभियानको उद्घाटन गर्ने बताए ।
नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक यादवका अनुसार टोल बस्ती तथा विद्यालयहरुमा स्वास्थ्यकर्मी पुगेर औषधि खुवाउने छन् । जनस्वास्थ्य कार्यालयका प्रमुख तथा जनस्वास्थ्य अधिकृत डा. नवल किशोर झाले दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती, सातदिनसम्मका सुत्केरी, छारे रोगी र पहिलेदेखि आम औषधि सेवन गर्दा गम्भीर समस्या नदेखिएका व्यक्तिहरु तथा सिकिस्त बिरामीले हात्तिपाइलेको औषधि खानु हुँदैन्, झाले बताए । शरीरमा हात्तिपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा हात्तिपाइले रोगविरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्ने र त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नुपर्ने चिकित्सकहरु बताउँछन् । ती लक्षणहरु केही घण्टाभित्रमा आफै हराएर जाने झाले बताए । चिकित्सकले कुनै हल्लाको पछि नलागी हात्तिपाइलेको औषधि सेवन गर्न आग्रह गरेका छन् ।
मलंगवा नगरपालिकाको प्रमुख अधिकृत गेहनाथ गौतमको अध्यक्षतामा आयोजित गोष्ठीमा विभिन्न संचारकर्मी उपस्थिति रहेको थियो । मलंगवा नगरपालिकाको १२ वटै वडामा फागुन ११ गतेदेखि हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।