मुलुक डेस्क, काठमाडौं । २०७९ माघ २७, शुक्रवार

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि २५ गते बुधवार लुम्बिनी प्रदेशको दाङमा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।
उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट उम्मेदवार श्री कुमार दसौदी ४ हजार २६ मतभार प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यले ३ हजार ७२० मतभार प्राप्त गरे।
यसैगरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवार रहेका राजेन्द्र वीर रायले १४४ मतभार प्राप्त गरे ।
यस उपनिर्वाचनमा लुम्बिनी प्रदेश भित्र रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २१८ जना र प्रदेश सभाका सदस्य ८७ जना गरी जम्मा ३०५ जना मतदाता रहेको थियो ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २१७ जना मतदाता र प्रदेश सभाका सदस्य तर्फ ८७ जना मतदाताले मतदान गर्नु भएको थियो । यस निर्वाचन प्रणालीमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार प्रति मतदाता १८ र प्रदेश सभा सदस्यको मतभार प्रति मतदाता ४८ मतभार रहकाे निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
