मुलुक डेस्क, काठमाडौं । २०७९ माघ १९, बिहिवार

मुस्लिम आयोगले मधेशी आयोगलाई मुस्लिमलाई पुन: मधेशीकै रुपमा सिफारिस पाउनको लागि आवश्यक व्यवस्थापन गरिदिन अनुरोध गरेको छ |
मुस्लिम आयोगले मधेशी आयोगलाई एक पत्र पठाउदै मधेशी आयोगले मुस्लिमलाई मधेशीको सूचीबाट हटाएपपछि मुस्लिमहरुले मधेशीको सिफारिस पाउन अवरोध देखिएको हुनाले सो अवरोधलाई हटाइदिन अनुरोध गरेको छ |
मधेशी आयोगद्वारा प्रकाशित “मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८” मा १४९ जात सहित थारु र मुस्लिमलाई पनि मधेशीको रुपमा सुचिकृत गरिएको थियो |
प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएपछि मुस्लिम र थारु आयोगका पदाधिकारीहरु सहित सो समुदायका विभिन्न संघ-संगठनहरुले मधेशी आयोगको सो निर्णय प्रति व्यापक विरोध गरेपछि आयोगले मङ्सिर २० गते बैठक बसी थारु र मुस्लिम लाई मधेशीको सूची बाट हटाएको थियो |
मधेशीको सूचीबाट मुस्लिमलाई हटाएपछी अहिले लोकसेवा लगयात विभिन्न निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई सम्बन्धित निकायबाट मधेशीको सिफारिस पाउन अवरोध देखिएको कुरा मुस्लिम आयोगको पत्रमा उल्लेख गरिएको छ |
मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तका अनुसार मधेशी आयोगले सुरुवातमा सबैलाई समेटेर नै आयोग अगाडी बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित समुदायका आयोगका पदाधिकारीहरु बाट व्यापक विरोध भएपछि आयोग बाध्य भएर थारु र मुस्लिमलाई मधेशीको सुचीबाट हटाएको थियो |
