मुलुक डेस्क, जनकपुरधाम । २०७९ माघ ०३, मंगलवार

मधेस प्रदेश सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । सभामुख चयनका लागि मंगलबार भएको निर्वाचनमा मण्डलले ७४ मत प्राप्त गरेका हुन् ।यसैगरी मधेश प्रदेशको उप सभामुख पदमा ७२ मत ल्याएर जनमत पार्टीकी राष्ट्रिय उपाध्यक्ष एवम् प्रदेश सांसद बबिता ईसर निर्वाचित भएकी हुन ।

१०७ सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ५४ मत आवश्यक पर्छ । सत्ता गठबन्धनका दलहरू नेकपा एमालेका, जसपाका, जनमतका, लोसपाका, माओवादी केन्द्रका, राप्रपाका, नेपाल संघीय समाजवादीका र स्वतन्त्र सांसदको समर्थनमा मण्डल सभामुखमा निर्वाचित भए ।
विपक्षमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीले मतदान गरेका थिए । धनुषा निर्वाचन क्षेत्र नम्बर १(२) बाट प्रदेश सभा सदस्यमा उनी दोश्रो पटक निर्वाचित भएका थिए ।
उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जंगीलाल रायले २९ मत प्राप्त गरे । मंगलबार भएको निर्वाचनमा कुल सदस्यमध्ये १०३ जना मतदानमा सहभागी भएका थिए।