मुलुक डेस्क, काठमाडौं । २०७९ मंसिर ०८, बिहिवार

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको दुबै सिटमा जनमत पार्टीले जित हात पार्दै क्लिन स्विप गरेको छ ।सप्तरी क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत र प्रदेशसभा २(क) मा सतिश कुमार सिंह तथा २(ख) मा महेश प्रसाद यादवले जित हासिल गरेको छ ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । डा. राउतले ३५ हजार ४२ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरे । यसैगरी बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले ७ हजार ३ सय ४४ मत प्राप्त गरेका छन् ।

सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा जनमत पार्टीका सतिश कुमार सिंह विजयी भएका छन् । १६ हजार ७ सय ३२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी जसपा–एमाले गठबन्धनका उम्मेदवार एवम् मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले ८ हजार २ सय ९२ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार सरोज कुमार मण्डल तेस्रो भए । उनले ६ हजार १ सय ३२ मत ल्याए ।

सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) मा महेश प्रसाद यादवले १३३२५ मत ल्याएर विजयी भए भने क्षेत्र ३(ख) मा शम्भु कुमार साह विजयी भएका छन् । जनमत पार्टीले सप्तरीमा १ प्रतिनिधिसभा र प्रदेश सभामा ३ स्थानमा विजयी भएका छन् ।
