‘नेपाली ललितकलाका जिउँदो सम्पदा
एवं वरिष्ठ परम्परागत मूर्तिकार ।’

संजीव सिंह, काठमाडौं

मूर्तिकार कालु कुमाले क्रोध मूर्तिकलाका सबैभन्दा सिद्धहस्त व्यक्तित्वका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित छन् । कुमाले क्रोध भावभङ्गीमा झल्कने बेजोड शैलीका मूर्तिकलाका एकल धरोहरका रूपमा चिनिन्छन् । क्रोध मुद्राका मूर्ति बनाएर आफूलाई विज्ञका रूपमा स्थापित गर्ने कुमालेले क्रोधकला शिरोमणिका अतिरिक्त मानार्थ प्राज्ञ र प्रबल गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, ललितकला प्रज्ञा सम्मान, दीर्घसाधना सम्मान लगायत दर्जनौँ विभूषण, पुरस्कार पाएका छन् ।


बाल्यकाल
कालु कुमालेको जन्म वि.सं. १९९० जेठ २७ गते पाटन, ललितपुरको थपात टोल, ओकुबहालमा बुबा सानु कुमाले र आमा ज्ञानी थकँुको सन्तानको रूपमा भएको होे । बुबाआमाका धेरै सन्तानमध्ये उनी र दिदीमात्र जीवित रहेकाले सानोमा धेरै मायामा हुर्किएका कुमाले सानोमा च्याम्पटी घुमाउन, पांग्रा गुडाउन र साथीभाइहरूसँग बरालिएर हिँड्न रमाउँथे । साधारण किसान परिवारमा जन्मेका उनी खेतीपातिमा रूची राख्दैन थिए ।


शिक्षा
कमजोर आर्थिक अवस्था र खेतमा काम गर्नुपर्ने हुनाले कालु कुमालेले अध्ययन गर्न पाएनन् । साथीभाइहरू पढेको देखेर पढ्ने चाहना भएकोले बुबाले उनलाई गुरुकहाँ पढ्न पठाएका थिए । तर पढ्ने किताब हराएपछि उनी पढ्न जान पनि छाडे र अर्को गुरुकहाँ पढ्न गए । त्यहाँ किताब किन्न १० रुपैयाँ बुझाउन नसक्दा उनी पढ्ने अवसरबाट बञ्चित भएका थिए ।


कलायात्रा
कालु कुमालेका बुबा सानु कुमालेको पेशा माटाका भाडा बनाउने र खेतीपाती थियो । उनको बुबा खेतीकिसानका अतिरिक्त मछिन्द्रनाथ, मीमनाथ, आदिनाथ (चोभार) र बसुन्धरादेवीकहाँ चढाइने माटाका भाँडाकुँडा बनाउन गुठियारहरूका साथ वर्षको एकदेखि दुई महिना व्यस्त रहन्थे । त्यो समय बुबासँगै रहने कालु उनीहरूले बनाएका कामहरू हेरेर बस्ने गर्दथे । बुबाले गरेको काम हेरेर र बुबाको आग्रहमा उनले सुरुमा जनावर र चराका मूर्ति बनाएर अभ्यास गर्द्थे । केही समयपछि सांस्कृतिक क्रान्तिका कारण तिब्बतीहरू ल्हासा छाडेर नेपाल आएका थिए भने उनीहरूले आफूसँगै टुटफुट भएका थुप्रै मूर्तिहरू पनि ल्याएका थिए । तिब्बतीहरूले ल्याएका मूर्तिहरूलाई संघरत्न शाक्य मार्फत् कुमालेले मर्मत गरेका थिए । पछि उनले अजिमाको मूर्ति (पाल्देन ल्हामु) बनाएका थिए । उनले बनाएको सयौं मूर्तिहरू विश्वका विभिन्न मुलुकमा पुगेको छ । उनका कतिपय मूर्तिहरू इङ्ल्यान्डको भिक्टोरिया तथा एल्बर्ट संग्रहालयमा संग्र्रहित छन् । उनले सिर्जना गरेका मूर्ति विश्वका ५० भन्दा बढी देशमा पुगेका छन् ।


वैवाहिक जीवन र वियोग
१२ वर्षको उमेरमा पहिलो विवाह गरेका कालुले १५ वर्षको उमेरमा लक्ष्मीमायासँग दोस्रो विवाह गरेका थिए । दोस्रो विवाहबाट १३ सन्तान जन्मिएको थियो जसमध्ये ८ जीवित रहे । उक्त ८ सन्तानमध्ये माहिलो, काहिलो र अन्तरे गरी ३ छोराहरु गुमाएका कालुले २०७४ सालमा पत्नी वियोग व्यहोर्नु पर्‍यो ।


कलाकृति

  • बज्रकिला, प्रचण्डवीर, गरुड आदि (भिक्टोरिया एण्ड अल्बर्ट म्युजियम, लण्डन, १९६८/७२)
  • चारहाते भैरव (पाटन बालकुमारी मन्दिर, क्वाछेँ)
  • राधा र रुक्मिणी (कृष्ण मन्दिर, भजनपाटी, शङ्खमूल)
  • अष्टमातृका गण (गणेशभैरव सहित) विष्णुदेवी मन्दिर, सतुंगल बाराही, धन्वन्तरी बाराही मन्दिर, ज्वागल, पाटन
  • छ्वास्कामुनी अजिमा (पाल्देन ल्हामु) नाम्ग्याल गुम्बा, धर्मशाला, हिमालञ्चल प्रदेश (हालः गादेन ज्याङत्से थासाङ्ग र्नोलिङ्ग मोनास्टिक युनिर्भसिटी) ।
  • बज्रपाणि बोधिसत्व, बज्रयोगिनी, मैत्री गुम्बा, स्वयम्भू अर्घा भगवती – अर्घाखाँची
  • बज्रभैरव मण्डला, फेल्ध्यालिङ्ग गुम्बा, स्वयस्भू र अन्य थुर्पै स्थानमा कालुका मूर्तिहरु छन् ।

प्रदर्शनमा सहभागी

  • नेपाल प्रज्ञा प्रतिष्ठान, कला कौशल विभाग, ललितकला संस्था, नक्साल (वि.सं. २०६२)
  • हस्तकला प्रवर्द्धन केन्द्र, पाटन औद्योगिक क्षेत्र (वि.सं.२०४२)
  • भिक्टोरिया र अल्वर्ट म्युजियम, लण्डन, (सन् १९६३)
  • अरनिको कलेक्सन, लण्डन र जेनेभा (सन् १९७१/७२)
  • चीनमा प्रदर्शनी (सन् २००७)
  • फोकानसान, ताइवानमा प्रदर्शनी (सन् १९९१)
  • कोरियन महायान बुद्धिस्ट एसोसियसन, कोरिया (सन् २००२)
  • सिङ्गापुर महायान बुद्धिस्ट सेन्टर, सिङ्गापुर (सन् १९९३)
  • कला प्रदर्शनी, टोकियो, जापान (सन् १९८४)
  • नेपाली आर्ट प्रदर्शनी, जर्मनी (सन् १९७८)
  • तिब्बेतन ट्रेडिसनल मेडिकल कलेज, ल्हासा (सन् २००५)
  • गाडेन जाङ्ग्त्से थासाङ् नोर्लिङ्ग मोनास्टिक युनिभर्सिटी, भारत (सन् २०००)
  • ग्युतो तान्त्रिक युनिभर्सिटी, धर्मशाला, भारत (सन् २००४)
  • एकल कला प्रदर्शनी, क्रोधकला शिरोमणि निवास हात्तिवन, ललितपुर (२०७६)


सम्मान तथा पुरस्कार

  • प्रथम पुरस्कार (वि.सं. २०४२ र २०४८)
  • घरेलु तथा साना उद्योग विभाग, हस्तकला प्रर्वद्धन शाखा १० औँ राष्ट्रिय उत्कृष्ट उद्यमी पुरस्कार (वि.सं. २०५२)
  • राष्ट्रिय प्रतिभा पुरस्कार (वि.सं. २०६८)
  • संस्कृति तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल सरकार प्रबल गोरखा दक्षिण बाहु (वि.सं.२०६२)
  • तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट क्रोधकला शिरोमणि (वि.सं.२०७३) सगरमाथा प्रतिष्ठान नेपाल
  • लाइभटाइम एचिभमेन्ट अवार्ड (वि.सं.२०६२)
  • नेपाल कलाकार समाज ‘वरिष्ठ कलाकार’ सम्मान (वि.सं.२०६२)
  • नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला संस्था अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान (वि.सं.२०७५) नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल
  • प्रबल जनसेवा श्री, राष्ट्रपति विद्यादेवी भण्डारी
  • दीर्घसाधना सम्मान, नेपाल सम्पदा संघ
  • प्रशंसापत्र (सन् २००७) गाडेन जाङ्ग्त्से थासाङ्ग नोर्लिङ् गुम्बा
  • प्रशंसापत्र (सन् २००५) ग्युतो तान्त्रिक युनिभर्सिटी, धर्मशाला
  • प्रशंसापत्र (सन् २००६) तिब्बेतन ट्रेडिसनल मेडिकल कलेज, ल्हासा

नेपाली परम्परागत मूर्तिकलाको जिउँदो सम्पदा हुन – कालु कुमाले । सिद्धहस्त एवं मूर्धन्य कलाकार कुमाले कला सिर्जनामा विगत ७ दशकदेखी अतुलनीय योगदान पुर्‍याउँदै आएका छन् । कला साधनामा समार्पित रहि क्रोध मुर्तिकलाका क्षेत्रमा विशिष्टता हासिल गरेका सिपालू मूर्तिकार कुमालेले आफ्नो कलाकृति र संस्कृतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन गरेको अतुलनीय र सराहनिय कार्य राष्ट्रकै लागि गौरवको बिषय हो । नेपाली कला परम्परामा क्रोधभाव झल्किने मूर्ति बनाउने प्रचलन प्राचीनकालदेखि नै सुरुवात भएको मानिन्छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक परम्परामा आधारित क्रोध मूर्तिकलाको निर्माणमा अनौठो, कलात्मक र भावनात्मक समिश्रणको रंग एवं रुप दिन माहिर कुमालेलाई नेपालको जिउँदो अरनिको भन्दा अतिशयोक्ति नहोला ! असंख्य हात, वृहंगम् भाव, क्रोध मुद्रा, स्वभाविक लाग्ने अस्वभाविक आसन र आलिङ्गन मुद्रा, विचित्रको प्रस्तुती, विशाल र भिमकाय आकार, रंगको उत्कृष्ट र गाढा समायोजन लगायतको प्रस्तुतीले कुमालेको कलाकृतिलाई आश्चर्यजनक र अनौठो बनाउन मद्दत पुर्‍याएको छ ।


सानैदेखि माटाका खेलौनाहरु बनाउँदै हुर्केका कुमालले कुनै औपचारिक शिक्षा हासिल नगरिकनै कला क्षेत्रमा निरन्तर क्रियाशील रही कलासाधकको उदाहरणीय र अनुकरणीय कार्य गर्न सफल भएका छन् । नेपालका प्रसिद्ध मठ-मन्दिर, गुम्बा विहार, चैत्य लगायतका स्थानसंगै विश्वका प्रसिद्ध संग्रहालयहरुमा समेत उनका कलाकृति प्रतिस्थापित एवं संग्रहित छन् ।
परम्परागत नेपाली मूर्तिकलाका क्षेत्रमा क्रोधकलामा विशेषज्ञता हासिल गरेका कुमालेले आफ्नो कला साधना र कृतिद्वारा अनुपम र अतुलनीय योगदान गरेकोले राष्ट्रका लागि जिउँदो धरोहर र संग्रहालय सरह रहेको बताउँछन् वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो । नेता महतोले जोड दिँदैं भने, ॅॅ९१ बर्षको उमेरमा पनि निरन्तर मूर्ति बनाउँनमा तल्लिन उनको अथक साधना र उत्कण्ठ अभिलाषा आम जनमानसकालागि उर्जावान, प्रेरणादायी र सम्मानयोग्य रहेकाले कालु कुमालेको जीवनी पाठ्यक्रममा सामेल गरिनुपर्दछ ।”


संघर्षको जीवन, खेतीपाति गर्ने समय र उमेर, तात्कालिन परिवेशसहित सबै कुरा कालु कुमालेको इच्छा विपरित थियो । पिताले भाँडाकुँडा बनाउन मुछेको माटो खेलाउँदा-खेलाउँदै अनजानबस कालुले विभिन्न पशुपन्छी र जनावरका आकृतीयुक्त खेलौनाहरु बनाउन सुरुवात गरे र त्यही खेलैनाहरुमा उनका साथीहरूले रंग भरेर बेच्न थाले । यसै क्रममा किन्ने एक ग्राहकको आग्रहमा उनका साथीले कालुसंग भेट गराए पश्चात उनको दैनिकी नै फेरियो । प्रेरणासंगै मैनको मूर्ति बनाउने काम दिएको संस्मरण उनले मुलुक टाइम्ससंगको प्रत्यक्ष साक्षात्कारमा सुनाए ।


प्रारम्भिक युवा अवस्था मुर्ति बनाउँनमैं बिताएको कालुले अन्ततः यसैलाई पेशा व्यवसाय र सौखको रुपमा रोजे । पारिवारिक आर्थिक अवस्थामा टेवा पुर्‍याउने उद्देश्यले कालु रातभरी मूर्ति सिर्जना गर्दथे । विरामी हुँदापनि मूर्तिको कल्पनामा डुब्ने उनले एक दिन सपनामा महामञ्जुश्री प्रकट भएको देखे र त्यसपछि त्यो घटनाले निरन्तरता पायो । फलस्वरुप उनले मूर्ति बनाउने कार्यलाई तिब्रता दिदैं गए । यसै सन्दर्भमा उनका पिताले, “तैंले माटाका झिंगटीको सट्टा सुनको झिंगटीले छाउने भइस् ?” भनेर गरेको ब्यङ्गलाई कालुले वास्तविकतामा परिणत गरिछाडे । उनले मूर्तिबाटै ख्याति, मानसम्मान, प्रतिष्ठा र पैसा पनि कमाए ।
कलाकार मदन चित्रकारका अनुसार, “कुमालेका अधिकांश मूर्तिहरू पञ्चबुद्धमध्येका दोस्रो अक्षोम्यबाट उदभव भएका वा मानिएका क्रोध मुद्राका देवीदेवतामा आधारित छन् । नेपाली बौद्धका हेबज्र, सम्बरका विविध रुप, चन्द्रमहारोशन कालचक्र लगायत तिब्बेतन बौद्धका पाल्देन ल्हामु (छ्वास्कामुनी) का मूर्ति सिर्जनामा केन्द्रित छन् । कालुको प्रत्येक मूर्तिमा भिन्न र अलग क्रोध एवं आवेगको भाव देखिन्छ । उनका अधिकांश कलाहरु भौतिकरुपमा भीमकाय हुन्छ ।”


क्रोधकलाका एक्लो मूर्धन्य र बेजोड कलाकार कालु कुमालेको सिर्जनामा बूट्टा कुँद्ने मौका पाएका कलाकार स्व. भीम शाक्यको वाक्यांश अनुसार कालुको जीवनशैली, व्यवहार, धैर्यता, लगनशीलता र लगाव प्रसंसनीय एवं अनुकरणीय छ । उनको “महिषसंवर” नामको मूर्ति अति डरलाग्दो र भयंकर छ । नौंवटा मुख, ३४ हात र प्रत्येक हातमा विभिन्न प्रकारको हातहतियार सुसज्जित १६ खुट्टे, खुट्टामुनी देवदेवी, मान्छे, जनावर र पन्छी थिचिएर बसेको विशालकाय मूर्ति हो- महिषसंवर (वज्रभैरव) ।
दक्ष प्रजापति थकू कुमाले जातिमा चक्रसंवर आदिको विषयमा दिक्षा लिएका कालु कुमालेले ३ इन्चदेखि १० फिटसम्मका अग्ला मूर्ति समेत बनाएका छन् । उनले अष्टमातृकागण भैरव, बाराही, बज्रपाणि, चक्रसंवर, छ्वास्कामुनी, सिद्धा, महाकाल, यमन्तका आदिको मूर्ति बनाएका छन् । करिब पाँचसय भन्दा बढी मूर्ति सिर्जना गर्न सफल मूर्तिकार कुमालेले थुर्पै मूर्तिहरु नेपालको मठ मन्दिर, गुम्बामा उपहारस्वरुप दान दिएका छन् । “आराम गरेर बस्यो भने ज्वरो आउला जस्तो हुन्छ । त्यही भएर काम गरिरहन्छु, ज्वरो आएको पनि निको हुन्छ ।” भन्ने मान्यताकासाथ दिनहुँ मूर्ति बनाउने कार्यमा तल्लिन छन् । कला साधनाको दृष्टिले नेपाली कला आकाशमा अद्वितीय व्यक्तित्वका रूपमा उनलाई चिनिन्छ । सामान्य पारिवारिक पृष्ठभूमिमा जन्मिएर कलाको सगरमाथा चुमेका कुमालेको कलायात्रा भने निकै कठिन दिनबाट सुरु भएको थियो । उनको जीवनको उकालीओराली निकै कष्टकर र कठिन मोडबाट गुज्रिएर सफलताको शिखरमा पुगेको हो ।

मूर्ति बनाउने विधि
शास्त्रमा वणर्न गरे बमोजिमको मुखाकृति, भावभंगी, मुद्रा, आसन र हातहतियार धारण आदि दृष्यमा उतारी ध्यान मग्न भई विशेष प्रकारको माटो अथवा मैन (मौरीको चाकाबाट प्राप्त मैन र सालधूप मिसाएर पगालेको) प्रयोग गरी मूर्तिको सिर्जना गरिन्छ । यसरी कलाकारद्वारा सिर्जित मूर्तिको साँचा निकालेपछि कालिगढहरुद्वारा मैनको मूर्ति तयार पारिन्छ । मूर्तिलाई भाग अनुसार टुक्रा बनाई मसिनो माटो र गाईको गोबर मिसाएर लेपन गरिन्छ । त्यसपछि लेपन गरेका मूर्तिका भागहरुलाई हावामा सुकाइन्छ र आवश्यकता अनुसार पटकपटक लेपन गरि सुकाए पछि पुनः पहेलों माटो र भूस मिसाइ माटो लेपन गरी घाममा सुकाइन्छ । र पुनः त्यसमा पनि आवश्यकता अनुसार थप माटो लेपन गरिन्छ । यसैक्रममा ती माटोको साँचालाई भट्टीमा राखेर दाउरा बालेर आवश्यकता अनुसार तापक्रम मिलाइ आगोको रापताप दिइन्छ भने अर्को भट्टीमा कोइला अथवा मट्टितेल वा डिजेलबाट भोँचामा धातु पगालिन्छ । त्यसपछि पग्लेको धातुलाई माटोको साँचोमा खन्याइन्छ । यसरी धातु खन्याइएको माटोको साँचो सेलाएर फुटालेपछि धातुको मूर्ति निस्किन्छ । र त्यसपछि उक्त मूर्तिलाई सफा गरी रेति लगाई त्यसमा बुट्टा कोर्ने काम गरिन्छ । यसप्रकार तयार भएको मूर्तिमा पालिस लगाइन्छ । र अन्तयमा सुन मोलम्बा वा अन्य प्रकारले अक्सिडाइज (पुलाँ) गरी तयार गरेकोमा मुखलेख्न (फेसपेन्टिङ) वा रंङ भरेर मूर्तिलाई पूणर्ता दिइन्छ ।

क्रोध भनेको रिस, आवेग र रौद्र रूप हो । प्रायः संसारका सबै मानिसमा रिस र आवेग हुन्छ । विद्वानहरूको मतलाई आधार मान्ने हो भने मानिसमा शान्त रूपभन्दा बढी क्रोध भाव हुन्छ । हुनत क्रोधले मानिसको शरीरमा ऊर्जा पैदा गर्न महत्वपूणर् भूमिका खेल्छ । क्रोध र शान्त भावबीचको द्वन्द्वबाट मानिसमा नयाँ ऊर्जा पैदा हुन्छ । यसलाई मानिसले सकारात्मक रूपमा अगाडि बढाउन सकेमा त्यसले मानिस र समाजको हित गर्छ भने नकारात्मक रूपमा लिए त्यसले मानव जाति र समाजकै अहित गर्छ ।


विश्वमा प्रचलित विभिन्न धर्ममा पनि क्रोध र शान्त भावको समिश्रण परापूर्वकालदेखि चलिआएको पाइन्छ । धर्ममा कतिपय देवतालाई क्रोध रूपमा देखाइन्छ । संसारमा जब जब अधर्म बढ्न थाल्छ त्यत्तिबेला देवताले आफ्नो क्रोध रूपमा अधर्मलाई पराजित गर्न विभिन्न युगमा अनेकन अवतारमा प्रकट हुन्छन् भन्ने मान्यता रहेको छ । कुमालेले पनि हिन्दू र बौद्ध धर्मका विविध क्रोधमय देवदेवीका मूर्ति बनाई त्यसमा उच्च सीप र कलाकारीता क्षमताको प्रदर्शन गरेका छन् । उनले परम्परागत कलाका आधारभूत सिद्धान्तलाई कलात्मक रूपमा मिलाएर मूर्तन गरेको पाइन्छ । यसरी नेपाली मूर्तिकलामा कालु कुमालेले क्रोध मूर्ति निर्माणमा महत्वपूणर् भूमिका निर्वाह गर्दै लामो ऐतिहासिक परम्परालाई धानेका छन् ।


उनले तिब्बती धर्मगुरु दलाई लामाका लागि छ्वास्कामुनी अजिमा (पाल्देन ल्हामु) को मूर्ति बनाउने काम पाए । सो मूर्तिको शिल्पगत सुन्दरता र आकर्षणले दलाई लामा प्रभावित भए । लामाले सो मूर्तिलाई आफ्नो पूजाकोठामा ३ महिनासम्म राखेर गार्देन जाङ्गत्से गुम्बालाई प्रदान गरे । मूर्तिको शिल्पगत क्षमताबाट प्रभावित भएका लामाले मूर्ति हस्तान्तरण कार्यक्रममा कुमालेलाई ॅथो श्होवा’ को उपनाम दिए जसको अर्थ राम्रो क्रोध मूर्ति निर्माण गर्ने कुशल कलाकार भनेको हो ।
महाबौद्धका एक जना व्यापारी पञ्चराज शाक्य (चाकू) ले कुमालेलाई मैनमा मूर्ति बनाउनका लागि प्रेरित गरे । यो कार्यलाई उनले लामो समयसम्म कायम राखे । जति खटे पनि आफूले गरेका मूर्तिकलाबाट आम्दानी भएपनि आवश्यक समयमा खर्च पाउँन मुश्किल भयो । आफ्नो गुजरा टार्न पनि धौ धौको अवस्था आयो । आफ्ना इच्छा, चाहना र सोखको मूर्तिकलालाई विश्राम दिई खेतीपाती र अन्य आय आर्जनको बाटोतिर लागे । अरुको भरिया सम्म बन्न भ्याए । कालु कुमालेको जीवनमा तिब्बतमा चलेको विद्रोहले निकै ठूलो परिवर्तन ल्यायो । तिब्बतमा चलेको सांस्कृतिक क्रान्तिबाट दलाई लामा र उनका अनुयायीहरू भागेर नेपाल हुँदै भारततीर शरणार्थीका रूपमा जान थाले । यही क्रममा उनीहरूले तिब्बतबाट ल्याएका टुटेफुटेका मूर्तिलाई नेपालमा पूणर् रूपमा बनाउन थाले । यसका लागि पाटनको ओकुबहालमा ल्याए । त्योबेला नेपालमा टुटुफुटेका सयौँ मूर्तिको मर्मत गरियो । यिनै मूर्ति बनाउने काम संघरत्न शाक्य मार्फत् पाएपछि कालु कुमालेको जीवनमा नयाँ मोडको सुरुआत भयो । त्यसबेला कालु कुमालले गुह्य देवदेवीका साथै थुप्रै क्रोध मूर्ति बनाउने र मर्मत गर्ने काम पाए । यी मूर्ति बनाउँदा बनाउँदै उनको कार्यदक्षता खारिँदै गयो । कामका साथै उनले बनाएका मूर्तिको चर्चा देश विदेशसम्म फैलिँदै गयो । मूर्तिको मागपनि बढ्दै गयो । विभिन्न गुम्बा तथा बिहारका लागि उनले मूर्ति बनाउने काममा व्यस्त हुन थाले । यस कार्यबाट उनको जीवनयापन सहज हुँदै गयो । यसक्रममा उनका छोराहरूले मूर्ति बनाउँदै अगाडि बढ्न थालिसकेका थिए । उनलाई छोराहरूको साथले यो पेसा अगाडि बढाउन महत्वपूणर् मद्दत पुग्यो ।


कुमालेले बनाएका मूर्ति नेपालमा मात्र नभएर बेलायत, अमेरिका, जापान, भुटान, कोरिया, इटली, मंगोलिया, भारत, रुस, युरोपलगायतका देशमा पुगिसकेका छन् । त्यत्ति मात्रै होइन बेलायतको प्रसिद्ध संग्रहालय भिक्टोरिया एन्ड अल्वर्ट म्युजियममा समेत उनले बनाएका क्रोध मूर्ति संग्रहित छन् । कुशल कलाकारिता क्षमता भएका कुमालेको मूर्तिकारिता नेपालकै लागि गौरव गर्ने विषय बनेको छ । कुमालेको योगदानको कदर गर्दै विभिन्न संघ संस्थाले उनलाई सम्मान समेत गरेका छन् । उनको कलाकारिताको सम्मान गर्दै क्रोधकला शिरोमणि र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट मानार्थ प्राज्ञ उपाधिबाट सम्मानित गरिएको छ । नेपाली परम्परागत कलामा क्रोध मूर्तिकलाका मूधन्र्य व्यक्तित्व कुमालले अहिले पनि सक्रियताका साथ मूर्ति बनाउँदै आफ्नो सीप र क्षमता अरूलाई बाँडिरहेका छन् । बृद्ध उमेरमा पनि नयाँ पिढीका कलाकारलाई निर्देशन दिदैं अर्घाखाँची सन्धिखर्कको अर्घा दरबार प्राङ्गणकोलागी २१ फिटको ढलाई प्रविधिमा अर्घा भगवती निर्माण गरेका छन् ।
नेपाली कलाको इतिहास दुई हजार वर्ष लामो रहेकोे छ । पुर्खाको सीप र क्षमताले नेपालीलाई विश्वमै परिचित गराउन सकेको छ । नेपाली परम्परागत मूर्तिकलाका विविध आयाम र विकासबाट यसले प्राचीनकाल देखिनै आर्थिक विकासमा समेत योगदान
पुर्‍याएको छ ।


राज्यले थोरै मात्र चासो राखेमा नेपाली कलाले विश्वमा आफ्नो प्रभुत्व जमाउनेमा प्राज्ञ धर्मराज शाक्य विश्वस्त छन् । राज्यले यो कलालाई पनि उच्च शिक्षाको घेरामा ल्याएमा नयाँ पुस्ताको आकर्षण र रोजगारी अझै बढ्नेमा शाक्यको जोड छ । नेपाली परम्परागत कलाको सीप र कलाकारिता क्षमता विश्वमै विशिष्ट रहेको छ । नेपाली कलाकारको माग लिच्छवि कालदेखि नै अन्तर्राष्ट्रिय रुपमै रहेको प्रथा अझ कायम छ । समाजमा धार्मिक र आर्थिक उपार्जन गर्नमा कलाको भूमिका अहम् रहने तथा कलाकारले बनाउने कलाले समाजका सकारात्मक प्रभाव पर्ने गरेको छ । ललितकलाको विभिन्न विधामध्ये मूर्तिकला एक विधा हो । मूर्तिकला शिल्पकलाको त्यो रुप हो, जुनमा तेस्रो आयाम हुन्छ । मूर्तिकला दह्रो कुराहरुबाट बनेको हुन्छ  जस्तै ढुंगा, माटो, धातुहरु आदिबाट बनेको हुन्छ । ललितकलाअन्तर्गत विभिन्न विधामध्ये धातुमूर्तिकलाले नेपाली हस्तकला क्षेत्रमा महत्वपूणर् जरो गाडेको देखिन्छ ।


हाम्रा धर्मशास्त्र एंव प्राचीन ऋषिमुनिहरूका धारणाअनुसार ललितकलालाई विभिन्न विधाहरूमा व्याख्या गरिएको पाइन्छ । त्यस्तै महर्षि वात्सायनले आफ्नो ग्रन्थ कामसूत्रमा ‘चतुषष्ठी कला’ अर्थात् कलालाई ६४ विधामा विभक्त गरेको पाइन्छ । त्यसअन्तर्गत ५९ कला मानिसले जीवनमा उपभोग गर्नका लागि निर्माण गरिन्छ, जसलाई उपयोगी कला भनिन्छ । बाँकी पाँच ललितकला विधा अन्तर्गत पर्दछन् । ती पाँचवटा चित्रकला, वास्तुकला, काव्यलेखनकला, संगीतकला र मूर्तिकला हुन् ।
मूर्तिकला अन्तर्गत पनि प्रस्तरकला, काष्ठकला, मूर्तिकला र धातुकला गरी चार विधा छन् । जसमध्ये धातुमूर्तिकला प्राचीनकालदेखि प्रचलनमा छ । युरोपतिर औद्योगिक क्रान्ति हुनुभन्दा अगावै आजभन्दा करिब ७०० वर्षअगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए भन्ने कुराको ज्वलन्त नमूना हो – अरनिको ।


उनले आफ्नो जीवनकालमा तामा, पित्तल र जस्ता आदि धातुबाट मिश्रितधातु बनाउने, ती धातु मिश्रित हुँदा हुने गुण र मूर्ति ढलान गर्ने उच्चकोटीको ज्ञान हासिल गरी त्यसलाई व्यवहारमा प्रयोग गर्ने, मैनको मूर्ति बनाउँदा आवश्यक हुने पुरानो तालमान र मूर्ति लक्षणको पूणर्ज्ञान लिई कार्य गर्ने गरेकाले नै उनलाई चित्रकला, मूर्तिकला र वास्तुकलाको विलक्षण सीप भएको वैज्ञानिक पनि भनिन्छ । अरनिको पदचाप् पछ्याउँदै नेपाली मूर्तिकलालाई विश्वसामु चिनाउन लागी परेका कलाकार हुन् – कालु कुमाले ।
उनी मञ्जुश्री गुरुको ध्यान र धूपबत्ती पनि गर्छन् । निदाएका वेला गुरुले आएर दर्शनसमेत दिने गरेको उनले बताए । “मैले जीवनमा एक घण्टा मात्र सुतेर चारवर्षसम्म निरन्तर काम गरेँ ।” नेपालको एक मात्र उत्तर बग्ने कर्मनासा खोला छेउमा बस्ने कालु र राकेशले भने मूर्तिकलालाई संस्थागत गर्दै नेपाली मूर्तिकलाको विकासमा लागेका छन् ।


मूर्तिकार कालु कुमालेको कलाकृतीको संग्रह र सम्र्वद्धन गर्न संग्रहालयको आवस्यकता रहेको बताउँछन प्रसिद्ध चित्रकार अजय देसार । देसारका अनुसार परम्परागत र पृथक पहिचानको पर्यायवाची बनेका कलाकार कुमालेको संघर्ष र सफलताको गाथा नेपाली पाठ्यक्रममा समावेश गरिनुुपर्दछ । उनको बारेमा वृत्तचित्र र फिल्म बनाइनुपर्दछ । उनको गरिमा र ख्यातीलाई जनमानसमा पुर्‍याउन चित्रकला मार्फत पनि प्रर्दशनी हुनुपर्दछ । क्रोध भावलाई सहज र सरल तरिकाले बृहंगम आकार दिई देवीदेवताको रुपमा मूर्ति निर्माण गर्नु कुुमाले विलक्ष्ण प्रतिभा र प्रस्तुती हो ।


नौं दशक पार गरेका सरल र शालिन व्यक्तित्वका धनी कलाकार कुमालेको यात्रामा उनको परिवारको ठूलो योगदान रहेको उनी आफैले स्विकारेका छन् । पत्नी लक्ष्मीमायाको साथ, सहयोग र समिप्यताले जीवनयापन सहज र सफल भएको बताउँछन् । यद्यपी पत्नी वियोगको पिडामा बेलाबेला भावुक हुने गरेका उनी पत्नीको यादमा डुब्ने पनि गरेका छन् । मुलुक टाइम्ससंगको भलाकुसारीको अन्तयमा कलाकार कुमालेले भावुक हुँदै भने “विगतको जीवनमा संघर्ष र आर्थिक अभाव भएपनि आनन्द र उत्साह थियो । समाजमा शान्ति र सदभावसंगै सम्मान र आदर थियो । तर आजभोलि भौतिक र प्रविधिको विकासले जीवनयापन सरल भएपनि सुखमय छैन ।”

कुमालेको निरन्तरको कलायात्रामा व्यवसायिक र व्यवहारिक रुपमा उनका छोराहरुले सघाए पनि साहिलो छोरा राकेशले १२ वर्षको उमेरदेखि अथक र अनवरतरुपमा साथ दिदैं आएको कुमालेले बताए । राकेशले वुबालाई साथ दिदैं आएकोमा आफुलाई भाग्यमानि बताए । उनी आफैं पनि कुशल मूर्तिकार हुन् । प्रारम्भिक जीवनका ६ वर्ष ध्यान र तपमा विताएका उनले कालु आटर्स एन्ड ह्याण्डिक्राफ्टस मार्फत परम्परागत नेपाली मुर्तिकलाका जिउँदोे सम्पदा एवं शिल्पी कालु कुमालेको सिर्जना एवं संस्कारलाई विश्वसामु चिनाउने अभियानमा लागेका छन् । संघर्षले खरिएर दुःखबाट गुज्रिएका कुमालेले आफ्नो क्षमताले भ्याएसम्म कला, शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा गर्दै आएको सहयोगलाई संस्थागत गर्न उनकै उपाधिबाट क्रोधकला शिरोमािण फाउण्डेशन स्थापना गरिएको छ । परम्परागत मूर्तिकलाका माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको गौरव बढाउन सफल कुमालेको कलालाई राज्यले सम्बोधन र सम्वद्र्धन गर्न नितान्त
जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published.