राम अधार साह, महोत्तरी । २०७९ कार्तिक ०३, बिहिवार

सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउण्डेशनद्वारा मनराशिसवा नगरपालिकाको विभिन्न सरकारी विद्यालयमा बैग वितरण गरिएको छ । सिंहको दोस्रो पुण्यतिथिकाे अवसरमा श्री दुर्गा मा. वि. मनरा, श्री सरयू मुनिलाल मा. वि. सरपल्लो, श्री जनता मा. वि. कटैया चौरिया र श्री मुन्सिफ मा. वि. साँढामा कक्षा १० का विद्यार्थीहरुलाई बैग वितरण गरिएको थियो ।

शिक्षा, स्वास्थ, कला र खेलखुदको क्षेत्रमा प्रमुख योगदान पुर्याउने लक्ष्यसाथ स्थापना भएको यो फाउन्डेशनले महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. १ मा अवस्थित नेपालकै पुरानोमध्येको एक विद्यालय श्री दुर्गा उच्च माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत १ सय ८३ विद्यार्थी, वडा नं. ६ मा अवस्थित श्री सरयू मुनिलाल मा. वि. सरपल्लोमा १०३ विद्यार्थी, वडा नं. ५ मा अवस्थित श्री जनता मा. वि. कटैया चौरियामा ९३ विद्यार्थी तथा वडा नं. ४ मा अवस्थित श्री मुन्सिफ मा. वि. साँढामा ६२ विद्यार्थीलाई गरि करिब ५०० थान बैग वितरण गरिएको जानकारी सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउण्डेशनका अध्यक्ष ई. रन्जित कुमार सिंहले बताए ।

विशुद्ध रुपले सामाजिक कार्यप्रती अग्रसर यो फाउण्डेशनले निरन्तर रुपमा सिंहको पुण्यतिथी कार्तिक ०२ गतेको अवसरमा यस्तो किसिमको सहयोगात्मक सहकार्य जारीराख्ने फाउण्डेशनको अध्यक्ष ई. सिंहले बताए । यसैक्रममा उच्च शिक्षा(+2) मा अध्ययन गर्ने २ जना गरिब र जेहेन्दार विद्यार्थीलाई फाउण्डेशनले प्रतिवर्ष छात्रवृत्ति पनि प्रदान गर्ने घोषणा गरे ।

पुण्यथितीको अवसरमा प्रत्येक विद्यालयमा प्रमुख अतिथिको रुपमा मनराशिसवा नगरपालिकाका मेयर मोहन पाण्डेयको उपस्थिति रहेको थियो । सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मेयरले नगरपालिकाको आन्तरिक आम्दानी सबै शिक्षा क्षेत्रमा नै लगानी गर्ने प्रतिबद्धता जाहेर गरे ।

सिंहको पुण्यथितीको अवसरमा सरपल्लो विद्यालयका प्रधानाध्यापक बृजलाल सहनी, कटैया चौरिया विद्यालयका प्रधानाध्यापक बेचन राय तथा साँढा विद्यालयका प्रधानाध्यापक मदन सिंहले आफ्नो मन्तव्य राखेका थिए । प्रत्येक विद्यालयका कार्यरत एवं अवकाशप्राप्त शिक्षकहरु लाई सम्मान समेत गरिएको थियो ।

सुरेन्द्र प्रसाद सिंह नेपाली काँग्रेसका नेता थिए । उनको जन्म वडा नं. २ कट्टीमा भएको थियोे । उनले पटक पटक गरेर महोत्तरी काँग्रेसको कार्यवाहक सभापतिको भुमिका पनि निर्वाह गरेका थिए । निष्ठाकाे राजनीति गर्ने सिंह निर्दिष्ट बाटो अपनाई निरन्तर संघर्ष गरि रहे । प्रथम संविधानसभामा उम्मेदवारी दिएका सिंह राजनीतिक यात्राक्रममा ३ महिनाको जेल जीवन पनि यापन गरेका थिए । वि.स. २०१४ पाैष ०१ मा जन्मेका सिंहको देहावसान २०७७ कार्तिक ०२ गते भएको थियो ।

पुण्यथितीको अवसरमा कक्षा १० विद्यार्थी सहित उनका अभिभावक, नगरका सज्जनबृन्द, कार्यरत शिक्षक, नेतागण लगायत वडा नं. ६ सरपल्लोका वडाअध्यक्ष राम बहादुर साह, वडा नं. ४ र ५ का जनप्रतिनिधि, वि. पि. चिन्तन प्रतिष्ठानका अध्यक्ष श्यामनन्दन ठाकुर, जसपाकी महिला नेतृ रेणुका सिंह सहितक उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन शिक्षाकर्मी एवं सञ्चारकर्मी संजीव सिंहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *